६१ जिल्लामा कांग्रेसको जिल्ला अधिवेशन सम्पन्न

२०७८ मङ्सिर १५ बुधबार २१:५०:०० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसले १४औँ महाधिवेशनअन्तर्गत बुधबारसम्म ६१ जिल्लामा पार्टीको जिल्ला अधिवेशन सम्पन्न गरेको छ । यसबाहेक सबै जिल्लाका कूल १६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट औषतमा २६ जनाका दरले महाधिवेशन प्रतिनिधि चयन हुने र प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रबाट औषतमा १८ जनाका दरले प्रदेश प्रतिनिधि चयन हुने पार्टी विधानको व्यवस्था छ ।

बुधबारसम्म सबै जिल्लामा प्रतिनिधि सभा र प्रदेशसभा क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेको समिति सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए । कांग्रेसले यसअघि देशभरका सबै वडा र पालिकामा पार्टीको अधिवेशन सम्पन्न गरिसकेको छ ।

कांग्रेसले बिहीबारदेखि सातै प्रदेशमा पार्टीको प्रदेश अधिवेशन प्रारम्भ गर्दैछ । जिल्ला अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन भने पार्टीको महाधिवेशन पछि मात्र हुने समितिले जनाएको छ ।

ताजा खबर