बलात्कारको अभियोगमा १६ वर्ष जेल बसेपछि माफी

२०७८ मङ्सिर १५ बुधबार ०८:५८:०० मा प्रकाशित

अमेरिकी लेखिका एलिस सेबोल्डले आफूलाई सन् १९८१ मा बलात्कार गरेको आरोपमा गलत तरिकाले दोषी ठहर गरिएका मानिससँग माफी मागेकी छन् । त्यसरी गलत रूपबाट दोषी ठहर भएर १६ वर्ष जेल सजाय बिताएका एन्थोनी ब्रोडवाटरलाई गत सातामात्रै दोषमुक्त गरिएको थियो । एलिसले आफ्नो संस्मरणात्मक पुस्तक ’लक्की’मा आफूमाथि बलात्कार भएको घटना उल्लेख गरेकी छन् ।

उनले पुस्तकमा बलात्कारपछि गल्लीमा एकजना अश्वेत मानिस देखेको र आफूमाथि हमला गर्ने व्यक्ति तिनै भएको ठानेको बताएकी छन् । त्यसपछि एन्थोनी ब्रोडवाटरलाई पक्राउ गरिएको थियो र उनलाई दोषी पाइएको भनेर जेलमा हालिएको थियो ।

आफ्ना वकिलहरूमार्फत एउटा विज्ञप्ति जारी गर्दै ब्रोडवाटरले भनेका छन् ‘उनले माफी मागेकोमा राहत’ मिलेको छ । सेबोल्डले माफी माग्दै विज्ञप्तिमा भनेकी छन्, ‘तपाईँले जस्तो खालको जीवन जिउन सक्नु हुन्थ्यो त्यो तपाईँबाट अन्यायपूर्ण रूपमा छिनिएकोमा म माफी माग्छु, र मलाई थाहा छ तपाईँमाथि जे भयो त्यो कुनै पनि माफीले कहिल्यै परिवर्तन गर्नसक्दैन।’

उनको पुस्तकमा आफू १८ वर्ष हुँदा न्यूयोर्कस्थित सिराक्युज विश्वविद्यालयमा पढ्दा उनीमाथि कसरी हमला भएको थियो भन्ने विस्तृतमा लेखेकी छन् । महिनौँपछि, उनले प्रहरीलाई त्यसबारे जानकारी दिएकी थिइन् ।

उनले आफूलाई जसले हमला गरेको ठानेको त्यो व्यक्तिलाई गल्लीमा देखेकोबारे प्रहरीलाई सचेत गराएकी थिइन् । त्यसपछि उक्त क्षेत्रमा त्यतिबेला अधिकृत रहेका प्रहरीले ब्रोडवाटरलाई गिरफ्तार गरेका थिए ।

ब्रोडवाटरमाथि त्यसपछि सुनुवाइ भयो र सेबोल्डले दिएको बयान र कपालको सूक्ष्म विश्लेषणका आधारमा दोषी ठहर गरिएको थियो । सन् १९९८ मा जेलबाट बाहिरिए पनि उनको नाम यौन अपराधीका रुपमा दर्ता भएर रहिरह्यो ।

उक्त मुद्दामाथि पुनः परीक्षण गरिँदा उनी नोभेम्बर २२ मा दोषमुक्त ठहर गरिएका हुन् । यसअघि अपर्याप्त प्रमाणका आधारमा दोषी ठहर गरिएको भन्दै अहिले आएर उनलाई दोषमुक्त गरिएको हो । सेबोल्टले आफ्नो विज्ञप्तिमा आफूले विगत आठ दिनमा कसरी यो सबै हुनसक्यो भनेर बुझ्ने प्रयास गरिरहेको बताइन् ।

‘मलाई बलात्कार गर्ने मानिस को हो भनेर कहिल्यै थाहा हुने छैन भन्ने तथ्यले पनि मलाई सताइरहनेछ। त्यो व्यक्तिले अन्य महिलालाई पनि बलात्कार गरेको हुनसक्छ र ब्रोडवाटरले भोगेजस्तो उसले कहिल्यै जेलसजाय भोग्नुपर्नेछैन,’ उनले विज्ञप्तिमा लेखेकी छन् ।

उनको संस्मरणात्मक पुस्तक ’लक्की’ १० लाखभन्दा बढी प्रति बिकेको छ र उनलाई लेखकका रूपमा यही पुस्तकले चिनाएको कतिपय पत्रिकाले लेखेका छन्।

 

ताजा खबर