तान्जानियामा विषालु कछुवाको मासु खाँदा सात जनाको मृत्यु

२०७८ मङ्सिर १५ बुधबार ०८:५५:०० मा प्रकाशित

तान्जानियाको पेम्बा द्वीपमा कछुवाको विषालु मासु खाँदा सात जनाको मृत्यु भएको छ । मृतकमध्ये एक जना तीनवर्षे बालक पनि भएको बताइएको छ । विषालु मासुका कारण बिरामी परेका अरू तीन जना अस्पतालमा छन् । तान्जानियाका टापु र तटीय क्षेत्रमा कछुवाको मासु खाने चलन छ। तर अधिकारीहरूले अहिले त्यसमा प्रतिबन्ध लगाएका छन् ।

कछुवाको मासु विषाक्त हुने घटनालाई दुर्लभ मानिन्छ। तर कहिलेकाहीँ ’क्लेनोनिटक्सिजम’का कारण कछुवाको मासु विषालु बनिदिन्छ । स्पष्ट कारण थाहा नभए पनि कछुवाले खाने विषालु लेउका कारण त्यसो हुन सक्ने टर्टल फाउन्डेशन नामक संस्थाले जनाएको छ ।

अर्धस्वायत्त जन्जिबार द्वीप क्षेत्रमा पर्ने पेम्बाका पाँच परिवारले बिहीबार कछुवाको मासु खाएको स्थानीय प्रहरी अधिकारी जुमा सइद हामिसले बताएका छन् । त्यसको भोलिपल्ट उनीहरू बिरामी पर्न थाले।

एक तीनवर्षे बच्चाको मृत्यु भएपछि शुक्रबार राति थप दुई जनाको र आइतबार चार जनाको ज्यान गएको छ । प्रहरीका अनुसार ३८ जना लाई अस्पताल भर्ना गरिएकोमा अधिकांशलाई घर फिर्ता पठाइएको छ ।

अहिले अस्पतालमा भएका बिरामीको अवस्था स्थिर भएको अधिकारीहरूले बताएका छन्।गत मार्च महिनामा म्याडग्यास्करमा कछुवाको मासु खाँदा नौ बालबालिकासहित १९ जनाको मृत्यु भएको थियो । इन्डोनेशिया, माइक्रोनेशिया र हिन्द महासागरका द्वीपहरूमा पनि त्यस्ता घटनाहरू भएका छन् ।

ताजा खबर