एमाले महाधिवेशनः मतगणना सुरु भएको २ घण्टामा परिणाम

२०७८ मङ्सिर १४ मंगलबार १२:५०:०० मा प्रकाशित

सौराहा । चितवनको सौराहमा जारी नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत सम्पन्न मतदानको दिउँसो १ बजेपछि मतगणना सुरु हुने भएको छ । एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य बाबुराम दाहालले दिउँसो १ बजेपछि मतगणना गर्ने तयारी गरिएको जानकारी दिए ।

बिहान ११ बजे मतदान सकिएपछि केहीबेर अगाडि मात्रै मुचुल्काको काम सकिएको भन्दै दाहालले मतगणना सुरु गरेको दुई घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने तयारी भएको जानकारी दिए ।

निर्वाचन समितिका पदाधिकारीले केही बेर आराम गरेर मतगणना गर्ने तयारी गरेका दाहालको भनाइ छ । एमाले महाधिवेशनमा ७२ वटा विद्युतीय भोटिङ मेसिनबाट मतदान गरिएको थियो । महाधिवेशनमा दुई हजार ९२ जनाले मतदान गरेका उनले बताए । एमाले महाधिवेशनमा दुई हजार १५३ जना प्रतिनिधि सहभागी थिए ।

महाधिवेशनअन्तर्गत विभिन्न ५० पदका लागि मतदान भएको थियो । निर्विरोध निर्वाचित भएका पदबाहेक ५० पदमा ८० जनाको उम्मेदवारी परेपछि ती पदमा मात्रै मतदान गराइएको दाहालले बताए । महाधिवेशनमा अध्यक्ष, उपाध्यक्ष, सचिवसहित केन्द्रीय सदस्यहरुका लागि मतदान गरिएको थियो । खुला केन्द्रीय सदस्य, खुला महिला केन्द्रीय सदस्यसहित केही समावेशी पदमा मतदान भएको थियो ।

ताजा खबर