चीनको जेलबाट भागेका उत्तर कोरियाली नागरिक ४० दिनपछि पक्राउ

२०७८ मङ्सिर १४ मंगलबार ०९:५६:०० मा प्रकाशित

चीनको एउटा कारागारबाट भागेका एक उत्तर कोरियाली नागरिक ४० दिनपछि पक्राउ परेका छन् । चिनियाँ प्रहरीले जारी गरेको एउटा विज्ञप्तिमा चिनियाँ नाम जू श्यान्जिएन उल्लेख गरिएका ती ३९ वर्षीय पुरुष आइतबार पक्राउ परेका जनाइएको छ । उनी सन् २०१३ मा उत्तर कोरियाबाट भागेर चीन गएका थिए।

उनलाई अवैधानिक रूपमा चीन प्रवेश गरेको र चोरी तथा लुटपाट गरेको अभियोगमा एउटा अदालतले दोषी ठहर गरेको थियो । जिलिनस्थित एउटा जेलबाट भागेपछि उनलाई पक्राउ गर्न सूचना उपलब्ध गराउने व्यक्तिलाई ठूलो पुरस्कार दिने घोषणा गरिएको थियो ।

सरकारले सञ्चालन गरेको बेङ्जिङ न्यूजले सार्वजनिक गरेको भिडियो फुटेजमा अक्टोबर १९ को राति उनी जेलको छतमा गएको र उफ्रेर विद्युतीय बार नाघेको देख्न सकिन्छ । सरकारी निकायहरूले ती भागेका व्यक्तिसम्म पुग्न सकिने सूचना दिनेका लागि पुरस्कार राशि बढाएर एक लाख नौ हजार अमेरिकी डलर दिने घोषणा गरेका थिए ।

जूलाई सुरुमा गैरकानुनी रूपमा चीनमा प्रवेश गरेको र उत्तर कोरियाबाट भागेपछि चोरी तथा लुटपाटमा संलग्न भएको आरोपमा जेल सजाय गरिएको थियो । अदालतको दस्ताबेजअनुसार सन् २०१३ मा उनी उत्तर कोरिया र चीनलाई छुट्ट्याउने नदी तरेका थिए र नजिकैका गाउँबाट पैसा, मोबाइल फोन र कपडा चोरेका थिए ।

उनलाई चिन्ने एक वृद्धालाई जूले चक्कु प्रहार गरेका थिए। प्रहरीले पक्राउ गर्नुअघि उनले ट्याक्सी चढेर भाग्ने प्रयत्न गरेका थिए । जूले नौ वर्ष लामो जेल सजाय काटिसकेका थिए। उनको सजाय पूरा हुन दुई वर्ष मात्र बाँकी थियो । जेल सजाय पूरा भएपछि उनलाई स्वदेश फिर्ता गराउने चीनको योजना छ। आफू उत्तर कोरिया फर्कनु नपरोस् भनेर उनी भागेको कतिपयको अनुमान छ ।

ताजा खबर