ओमिक्रोनका कारण जापानमा विदेशीलाई प्रवेश निषेध गर्ने तयारी

२०७८ मङ्सिर १३ सोमबार १४:११:०० मा प्रकाशित

जापानमा फेरि पनि विदेशी यात्रुलाई प्रवेश निषेध गर्ने तयारी भएको छ । सिमानामा कडाइका साथ परीक्षण गर्ने व्यवस्था गर्न लागिएको प्रधानमन्त्री फुमियो किशिदाले सोमबार जानकारी दिए ।

अफ्रिकी मुलुकहरुमा कोरोनाभाइरसको नयाँ संस्करणको रुपमा देखिएको ओमिक्रोनको महामारी आफ्नो देशभित्र प्रवेश नगरोस भन्ने उद्धेश्यले विदेशबाट आउनेहरुलाई जापान प्रवेशमा निषेध गर्न लागिएको हो ।

“हामीले चाडै नै विदेशबाट आउनेहरुलाई देश प्रवेशमा रोक लगाउने छौँ, त्यो कुनै देश विषेशका लागि मात्रै नभएर विश्वभरीका कुनै पनि देशबाट आउनेहरुलाई रोक लगाउन लागिएको हो,” उनले भने ।

प्रधानमन्त्री किशिदाले नोभेम्बर ३० तारिखदेखि प्रतिवन्धात्मक यो व्यवस्था लागू हुने पनि जानकारी दिए । जापानमा यसअघि पनि महामारीलाई न्युनिकरण गर्न भन्दै अधिकांश नाका बन्द गरिएको थियो भने विदेशबाट आउनेहरुलाई परीक्षणमा कडाइ गरिएको थियो । तर गत नोभेम्बरको सुरुदेखि विदेशबाट आउनेहरुलाई प्रवेशमा खुकुलो बनाइएको थियो ।

नयाँ खुकुलो व्यवस्थाका आधारमा व्यवसायी, विदेशी विद्यार्थी र जापानको भिषा भएकाहरुलाई प्रवेश गर्न दिइएको थियो । टोकियोले गत शुक्रवार नै अफ्रिकी ६ मुलुकबाट जापान आउनेहरुलाई कम्तीमा १० दिन अनिवार्य क्वारेन्टाइनमा बस्नु पर्ने व्यवस्था गरेको थियो । यस्तो नियम अन्य देशहरुबाट आउनेहरुलाई पनि बढाउदै लगिने प्रधानमन्त्री किशिदाले जानकारी दिए ।

“कोरोनाभाइरसको महामारीविरुद्ध जापान सधैँ कठोर रुपमा उभिएकै हो, अहिले ओमिक्रोनविरुद्ध पनि उत्तिकै कडा रुपमा उभिने छ,” प्रधानमन्त्री किशिदाले भने ।

उनले नयाँ भाइरसबाट जोगिन पनि मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने, भिडभाड नगर्ने र प्रतिवन्धात्मक व्यवस्थाहरु कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । जापानमा कोरोनाका कारण अहिलेसम्म १८ हजार तीन सयभन्दा बढीको मृत्यु भएको छ भने ७६.५ प्रतिशतलाई कोरोनाभाइरस विरुद्धको खोप दिइसकिएको छ ।

ताजा खबर