नेपालको पर्यटन प्रवद्र्धन गर्न अङ्ग्रेजी भाषामा म्युजिक भिडियो निर्माण

२०७८ मङ्सिर १२ आइतबार २०:१४:०० मा प्रकाशित

काठमाडौं । नेपालको पर्यटन प्रवद्र्धनार्थ साङ्ग्रिला नेपालको प्रतिनिधित्व गर्ने अङ्ग्रेजी म्युजिक भिडियो सार्वजनिक गरिएको छ । नेपालको पहिचानलाई विश्वभर प्रवद्र्धनका लागि पहिलो पटक अङ्ग्रेजी भाषामा पर्यटनसँग सम्बन्धित भिडियो बनाइएको हो । साङग्रिला नेपालको विविध स्थलकृति, संस्कृति र अन्न्त पर्यटकीय आकर्षण भएको देशलाई प्रतिनिधित्व गर्ने भिडियो सार्वजनिक भएको छ ।

अनुपम प्राकृतिक सुन्दरता, सांस्कृतिक सम्पदा र भौगोलिक विविधतायुक्त मुलुक नेपाल विश्व पर्यटनको आकर्षणको केन्द्र विन्दु बनिरहेको छ । नेपालका विभिन्न गन्तव्यको विश्वभर प्रचारप्रसार गरेर बढीभन्दा बढी बाह्य पर्यटक नेपाल भित्राउन निजी तथा सरकारी तबरबाट विभिन्न पहलकदमी भइरहेको छ । पर्यटन प्रवद्र्धनका विभिन्न आयाममध्येको महत्वपूर्ण पाटो सङ्गीत पनि हो ।

त्यसैले सङ्गीतको माध्यमबाट पर्यटकीय सम्भावनाको उजागर गरी नेपालको पहिचानलाई विश्वभर प्रवद्र्धनका लागि म्युजिक भिडियो निर्माण गरिएको हो । जम्मा ६ मिनेट ४० सेकेन्डको उक्त भिडियोमा सङ्गीतको माध्यमबाट नेपालका पर्यटकीय सम्भावनाको उजागर गरिएको छ । म्युजिक भिडियाको निर्माता तथा निर्देशक सूर्य बराल हुन् ।

फिल्म निर्माता एवं लेखक प्रेमबहादुर बस्नेतको शब्द रहेको छ । उक्त म्युजिक भिडियोमा प्रख्यात सुवर्ण लिम्बुले सङ्गीत दिएका छन् भने प्रीति कौरले आवाज दिएकी छन् । भिडियोले विविध स्थलाकृति, संस्कृति र अन्न्त पर्यटकीय आकर्षण भएको देशलाई प्रतिनिधित्व गरेको छ । साङ्ग्रिलाको माध्यमबाट आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न भिडियो बनाइएको निर्देशक बरालले बताए ।

उनले नेपाललाई पर्यटक माझ चिनाउन भिडियो निर्माण गरिएको उल्लेख गरे । करिब दुई वर्षको समयावधि लगाएर तयार पारिएको उक्त म्युजिक भिडियोको लागत २५ लाख रुपैयाँभन्दा बढी छ । नेपालका चर्चित पर्यटकीय गन्तव्य तथा पवित्र तीर्थ स्थलमा गएर छायाङ्कन गरिएको छ । म्युजिक भिडियोमा नेपाली परिदृश्य को भव्यता, नेपालको समृद्ध सांस्कृतिक सम्पदा र अनन्त सौन्दर्यको रुपमा एक भटकराको आँखाबाट देखिएको छ जो नेपालसँग मोहित छ ।

म्युजिक भिडियाको निर्माता तथा निर्देशक सूर्य बराल हुन् । सन् १९९२ मा टाइम म्यागेजिनको कथा अलबिदा साङ्ग्रिला छापिएपछि नेपालको यात्रा व्यापार, आतिथ्य उद्यमी र सरकारसँगै सन् १९९८ मा भिजिट नेपाल र नेपालको पर्यटनलाई लाभान्वित अन्य कार्यक्रम आयोजना गरी नेपाल प्रवद्र्धनमा भूमिका खेलेको थियो ।

अहिले नेपालको पर्यटीय गतिविधि चलायमान भइरहेको छ । नेपाल भ्रमण वर्ष, २०२० को आयोजना गरी २० लाख पर्यटक भित्राउने लक्ष्यसहित भ्रमणवर्षको शुभारम्भ गरिएको थियो । कोभिडि–१९ महामारीका कारण उक्त अभियान स्थगित गरियो ।

महामारीले पर्यटन क्षेत्रलाई नराम्ररी प्रभावित गर्यो । महामारीबाट सबैभन्दा बढी प्रभावित बनेको मुलुकको पर्यटन क्षेत्र विस्तारै लयमा फर्किने क्रममा छ । म्युजिक भिडियो डिश होम च्यानलबाट पनि प्रसार हुनेछ । भिडियोलाई विभिन्न माध्यम (सोशल मिडिया, यात्रा र व्यापार मेला)बाट प्रशारण गरिनेछ ।

ताजा खबर