सुन कछुवासहित काठमाडौंबाट चारजना पक्राउ

२०७८ मङ्सिर १२ आइतबार १४:२३:०० मा प्रकाशित

काठमाडौं । काठमाडौँ महानगरपालिका–१३ सोल्टी दोबाटोबाट सुन कछुवासहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूका साथबाट कछुवासहित ३६ हजार ६५५ रुपैयाँ पनि बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१६ बालाजु बस्ने ४४ वर्षीय सञ्जय तामाङ, तनहुँ घर भई काठमाडौँको माछापोखरी बस्ने प्रकाश खाती, दोलखा घर भई बूढानीलकण्ठ बस्ने राजकुमार तामाङ र तनहुँ घर भई हाल रानीबारी बस्ने हरि परियार रहेका परिसरले आइतबार सूचना जारी गरी जनाएको छ । पहेँलो कछुवा अबैधरूपमा बिक्री गरिरहेको भन्ने जानकारीका आधारमा शनिबार साँझ खोजतलासमा गएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूका विषयमा प्रहरी वृत्त कालीमाटीमा प्रारम्भिक अनुसन्धानपछि थप कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार पठाइएको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक निरञ्जन दत्त भट्टले जानकारी दिए ।

ताजा खबर