आगलागीमा परी चितवनमा दुई बालबालिकाको मृत्यु

२०७८ मङ्सिर १२ आइतबार ११:५८:०० मा प्रकाशित

चितवन । चितवनको राप्ती नगरपालिकाको एउटा घरमा आगलागी हुँदा दुई बालवालिकाको जलेर मृत्यु भएको छ । राप्ती नगरपालिका वडा नम्बर १ मैनाटारस्थित जीतबहादुर रुम्बाको घरमा शनिबार आगलागी भएको थियोे । आगलागीमा परी जितबहादुरको छोरातर्फको नाति ३ वर्षीय सुरज र उनकै छोरीतर्फको ३ वर्षीया नातिनी मनिषा तामाङको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

आगलागीबाट घर, घरमा भएको लत्ताकपडा, खाद्यान्न, भाडाकुँडा पूर्ण रुपमाजलेर नष्ट भएको छ । घरमा अभिभावक नभएको समयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए । सोलारको ब्याट्री सर्टको कारण आगलागी भएको अनुमान गरिएको छ । शनिबार घटना भए पनि विकट पहाडी क्षेत्र भएकाले आइतबार मात्र घटनाको जानकारी गराएको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि भरतपुर अस्पतालमा पठाइएको छ ।
 

ताजा खबर