पोर्चुगल र इटाली मध्ये एकले विश्वकप गुमाउने

२०७८ मङ्सिर ११ शनिबार १४:२१:०० मा प्रकाशित

क्रिस्टियानो रोनाल्डोको पोर्चुगल र युरोकपको साविक विजेता इटाली मध्ये एकले सन् २०२२ को कतार विश्वकप गुमाउने निश्चित भएको छ । गएराति भएको विश्वकप छनोट प्ले अफको  ड्र अनुसार इटाली र पोर्चुगल  एकै समूहमा परेका हुन् । यी दुबै टिमले सिधै कतार विश्वकपमा  स्थान बनाउने सुनौलो अवसर गुमाएका थिए ।

इटाली २०१८ को रुस विश्वकपमा पनि छनोट हुन असफल भएको थियो । तर पछिल्लो समय उच्च प्रदर्शन गरेको इटालीले गत जुलाइमा सम्पन्न भएको युरोकपमा इङ्ल्यान्डलाई हराउँदै  उपाधि जितेको थियो । विश्वकप छनोट खेलको समूहका पछिल्ला दुई खेलमा खराब प्रदर्शन गरेपछि इटाली प्ले अफ खेल्न बाध्य भएको हो । २०१६ को युरो च्याम्पियन पोर्चुगल समूहको अन्तिम खेलमा सर्वियासँग पराजित भएपछि सिधै छनोट हुनबाट चुकेको थियो ।

उसले  २००२ यता लगातार विश्वकप खेल्दै आएको छ । रोनाल्डोले आफ्नो करियरमा पहिलो पटक विश्वकप गुमाउने खतरा पनि बढेको छ । ३६ वर्षीय रोनाल्डोको सम्भवत यो अन्तिम विश्वकप पनि हो  । प्ले अफमा पोर्चुगलले टर्कीसँग खेल्नेछ ।

 इटालीले नर्थ मेसिडोनियाको सामना गर्नेछ । पहिलो खेल जित्ने टिम बीच फाइनलमा प्रतिस्पर्धा हुनेछ । अन्य प्ले अफमा स्कटल्यान्ड र युक्रेन  तथा वेल्स अस्ट्रियाबीच खेल हुनेछ । स्कटल्यान्ड १९९८ पछि पहिलो पटक विश्वकपको फाइनल चरण खेल्ने लक्ष्यमा छ । वेल्सले पछिल्लो पटक १९५८ मा विश्वकपका लागि छनोट भएको थियो । तर उसले पछिल्ला दुई युरोकपमा स्तरीय प्रदर्शन गरेको छ ।

२०१६ मा सेमीफाइनल पुगेको वेल्स  २०२० को युरोमा अन्तिम १६ बाट बाहिरिएको  थियो । रोबर्ट लेवान्डोस्कीको पोल्यान्डले रुससँग खेल्नेछ । स्विडेन चेक रिपब्लिकसँग भिड्नेछ । प्ले अफका खेल २४ मार्चबाट सुरु हुनेछन् ।

युरोपबाट कुल १३ टिमले विश्वकपमा सहभागिता जनाउनेछन् । त्यसमध्ये दश टोली छनोट भइसकेका छन् । बाँकी तीन स्थानका लागि १२ टिम बीच प्रतिस्पर्धा हुनेछ । कतार विश्वकप खेल्ने २१ मध्ये १३ टिमको टुंगो लागेको छ । कतार आयोजकका रुपमा छनोट भएको छ ।अन्य देशमा बेल्जियम, साविक विजेता फ्रान्स, डेनमार्क, क्रोएशिया, इङल्यान्ड, नेदरल्यान्डस,  जर्मनी, सर्विया , स्विटजरल्यान्ड, स्पेन, ब्राजिल र अर्जेन्टिना छन् । विश्वकप अर्को वर्षको नोभेम्बर डिसेम्बरमा हुनेछ । 
 

ताजा खबर