विद्युतीय प्रणालीको सुधारका लागि एडिबीले सात अर्ब ऋण दिने

२०७८ मङ्सिर १० शुक्रबार १७:४३:०० मा प्रकाशित

काठमाडौं । एसियाली विकास बैंक(एडिबी)ले नेपालको विद्युतीय प्रणालीको सुधार एवम् आधुनिकीकरणका लागि करिब सात अर्ब आठ करोड बराबरको ऋण सहायता उपलब्ध गराएको छ ।

अर्थ मन्त्रालयमा शुक्रबार आयोजित ऋण सहायतासम्बन्धी द्विपक्षीय सम्झौतामा अर्थसचिव मधुकुमार मरासिनी र बैंकका देशीय निर्देशक अर्नड काउचिसले हस्ताक्षर गरे । नेपालको विद्युत प्रणालीको विकास र विस्तारका लागि एडिबीले निरन्तर सहयोग उपलब्ध गराउँदै आएको सन्दर्भमा आजको ऋण सहयोग अर्को महत्वपूर्ण रहेको छ ।

ऋण सहयोगबाट नेपालगञ्जदेखि कोहलपुरसम्म १३२ केभी क्षमताको प्रसारण लाइन निर्माण हुनेछ । यस्तै काठमाडौँ उपत्यकाको विद्युत् प्रणालीमा महत्वपूर्ण मानिएको चोभारदेखि लगनखेलसम्मको प्रसारण लाइन निर्माण हुनेछ । त्यस्तै ऋण सहयोगबाटै दुुम्किवास, लगनखेल, नेपालगन्ज र मुलपानीमा अत्याधुनिक सबस्टेशन निर्माण गरिने छ ।

त्यससम्बन्धी आवश्यक तयारी भइसकेको प्राधिकरणले जनाएको छ । अर्थसचिव मरासिनीले प्रसारण लाइनको विस्तारले विद्युत्को माग तथा उत्पादन बढाउनसमेत सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उनले आन्तरिकरूपमा बिजुली उत्पादन बढ्दै जाँदा व्यापार घाटा कमसमेत गर्न सहयोग पुग्ने उल्लेख गरे । कार्यक्रममा एडिबीका देशीय निर्देशक अमुद काउचिसले ऋण सहयोगले नेपालको उत्पादित विद्युतको प्रसारणका अतिरिक्त गुणस्तरमासमेत वृद्धि हुने बताए ।

नेपालको विद्युत् वितरण प्रणालीमा सुधार, प्रसारण लाइन विस्तार साथै विद्युत् उत्पादनसमेतमा वृद्धि गर्ने लक्ष्य लिइएको छ । काठमाडौँ उपत्यकाको भूमिगत प्रसारण लाइन निर्माणसमेतमा एडिबीले नै ऋण सहायता उपलब्ध गराएको छ ।

ताजा खबर