पाँचपोखरी थाङ्पाल गाउँपालिकाको पाठ्यपुस्तक ‘मेरो पाँचपोखरी’ तयार

२०७८ मङ्सिर १० शुक्रबार १०:२८:०० मा प्रकाशित

सिन्धुपाल्चोक । केन्द्रीकृत पाठ्यक्रमले मात्र स्थानीय खाँचो पूरा गर्न नसक्ने भएकाले सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकाले स्थानीय पाठ्यक्रम तयार पारेको छ ।

नागरिकलाई आफ्नै भूगोलको माया गरी सम्मानित जीवन जिउन स्थानीय परिवेश चिनाउने पाठ्यक्रम तयार पारिएको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए । अध्यक्ष लामा भन्छन्, “स्थानीय परिवेशको सुक्ष्म अध्ययनले आफ्नो भूगोलप्रतिको मायामोह जाग्छ, आफ्नो ठाउँको सबल पक्ष र खाँचो भएका पक्षबारे जानकारी गराउने भएकाले स्थानीय विकासमा टेवा पुर्याउँछ ।”

कक्षा १ देखि ८ सम्मको पाठ्यक्रम तयार गरी यही शैक्षिकसत्रबाट लागू गरिसकेको शिक्षा शाखाका प्रमुख कमला खनालले जानकारी दिइन् । विद्यालय निरीक्षक उत्तममणि पौडेलका अनुसार कक्षा १ को पाठ्यपुस्तक पठनपाठन सुरु भएको, २ र ३ को प्रेसमा गएको साथै अन्य कक्षाको पनि छिट्टै तयार हुने छ ।

विद्यालय शिक्षाको राष्ट्रिय प्रारुप २०७६ ले व्यवस्था गरेबमोजिम स्थानीय जनशक्तिको उपयोग गरी पाठ्यक्रम निर्माण गरी कार्यान्वयनमा ल्याइएको हो । पाठ्यक्रममा गाउँपालिकाको परिचय, प्राकृतिक स्रोत र सम्पदा, संस्कार तथा संस्कृति, ऐतिहासिकस्थल र पर्यटन, पेशा व्यवसाय तथा प्रविधि, परम्परागत ज्ञान, सीप र कला, प्रकोप र वातावरण संरक्षण, स्वास्थ्य र सरसफाइका साथै स्थानीय भाषा तथा लिपि समेटिएको गाउँपालिका अध्यक्ष लामाले जानकारी दिए ।

स्थानीय पाठ्यपुस्तकमा स्थानीय भाषा र लिपिमा तामाङ, ह्योल्मो तथा शेर्पा भाषालाई समेटिएको छ । भाषा, धर्म, वेशभूषा, प्रेरक व्यक्तिको जीवनी, खानी, जडीबुटी, बोटबिरुवाबारे जानकारीका साथै संरक्षण र संवद्र्धन, स्थानीय बाजाबारे जानकारी, वातावरण संरक्षणका उपाय आदिबारे पाठ्यपुस्तकमा समावेश गरिएको विद्यालय निरीक्षण पौडेलले जानकारी दिए । जीवनीमा सातै महादेशका सबै अग्ला हिमाल आरोहण गरेकी विश्व साहसी समावेशी नेतृ माया गुरुङ, समाजसेवी मिङ्मार दोङ, सामुदायिक वनका अभियानकर्मी लक्ष्मण दोङको जीवनी राखिएको छ ।

ताजा खबर