भारतमा क्रिप्टोकरेन्सी प्रतिबन्ध लगाउन कानुन ल्याउने तयारी

२०७८ मङ्सिर १० शुक्रबार ०९:०६:०० मा प्रकाशित

भारतमा एउटा बहुप्रतीक्षित विधेयकमार्फत् अधिकांश क्रिप्टोकरेन्सीमाथि प्रतिबन्ध लगाउने तयारी गरिएको छ । भारत सरकारले डिजिटल मुद्राबारे आफ्नो धारणा केही नरम बनाउँछ कि भन्ने अपेक्षा गरिएको थियो ।

नयाँ नियमअन्तर्गत प्रविधि प्रवद्र्धनका लागि गरिने केही प्रयोगबाहेक अन्य सबै अवस्थामा निजी क्रिप्टोकरेन्सी प्रतिबन्धित हुनेछन् । विधेयकको बारेमा घोषणा भएपछि भारतीय बजारमा क्रिप्टोकरेन्सीको मूल्य घटेको छ ।

सरकारी जानकारीअनुसार संसद्को हिउँदे अधिवेशनमा ’क्रिप्टोकरेन्सी एन्ड रेगुलेशन अफ अफिशल डिजिटल करेन्सी’ विधेयक प्रस्तुत हुनेछ । त्यो कानुनले केन्द्रीय बैंकले सरकारी डिजिटल मुद्रा विकास गर्नका लागि आवश्यक वातावरण निर्माण गर्ने लक्ष्य लिएको छ । जनवरीमा विधेयकको मस्यौदा प्रस्तुत हुँदा त्यसका सबै निजी क्रिप्टोकरेन्सीलाई प्रतिबन्ध लगाउने बुँदा थियो ।

हालैका महिनामा भारत सरकारले क्रिप्टोकरेन्सीलाई मुद्राका रूपमा भन्दा पनि नियमबद्ध सम्पत्तिको रूपमा हेर्ने अपेक्षा गरिएको थियो । विधेयकको पछिल्लो मस्यौदा सार्वजनिक नभएको हुँदा पुरानोभन्दा के परिवर्तन गरिएको छ भन्ने स्पष्ट छैन ।

चीनले गत सेप्टेम्बरमा क्रिप्टोकरेन्सीलाई अवैध घोषणा गरेको थियो । भारतीय बजारमा बिटकोइनको मूल्य १३ प्रतिशतले एवं शीवा इनु र डोजकोइनको मूल्य १५ प्रतिशतभन्दा बढीले घटेको जनाइएको छ ।

इन्डिया टुडेका अनुसार क्रिप्टोकरेन्सी भारतीय नियमानुसार चल्ने अनलाइन एक्सचेन्जबाट खरिदबिक्री गर्न मिल्ने व्यवस्था गरिने सम्भावना छ ।

सन् २०२० को मार्चमा भारतको सर्वोच्च अदालतले केन्द्रीय बैंकले क्रिप्टोकरेन्सी कारोबारमाथि दुई वर्षदेखि लगाएको प्रतिबन्ध उल्टाएको थियो । क्रिप्टोकरेन्सीको केन्द्रीय बैंक हुँदैन र संसारभरिका थुप्रै कम्प्युटरहरूमा राखिएको रेकर्डको आधारमा यो सञ्चालन हुन्छ । यसबाट सरसमान किन्न वा भुक्तानी गर्न सकिन्छ।

ताजा खबर