अदालतबाट २० लाख जरिवना ठहर भएकी गुरुङ पक्राउ

२०७८ मङ्सिर ९ बिहीबार २२:१७:०० मा प्रकाशित

काठमाडौं । नेपाल प्रहरीले अदालतबाट २० लाख जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले २० लाख जरिवाना गरेपछि फरार रहेकी तनहुँ भानु नगरपालिका–१३ की शोभा गुरुङलाई बिहीबार पक्राउ गरेको हो ।

ब्यूरोका प्रहरी उपरीक्षक कमल थापाले उच्च अदालत पाटनको विस २०७७ असार १ गतेको फैसलापछि चार दिन कैद र बिगो बमोजिम बीस लाख जरिवाना ठहर गरेपछि फरार रहेकी गुरुङलाई बिहीबार ललितपुरको कुपण्डोलबाट पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेकी गुरुङले आफ्नो एनआईसी एशिया बैँक लिमिटेडको खातामा पर्याप्त मौज्दात नहुँदानहुँदै झुक्यानमा पारी चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेकी थिइन् ।

उच्च अदालतले गुरुङलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम उल्लेखित सजाय हुने गरी फैसला सुनाएको थियो । गुरुङलाई आजै जिल्ला अदालत ललितपुर पेश गरिएको प्रहरी उपरीक्षक थापाले बताए ।

ताजा खबर