नेपालद्वारा कुवेत ९ विकेटले पराजित

२०७८ मङ्सिर ९ बिहीबार १५:४१:०० मा प्रकाशित

काठमाडौं । आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट खेलअन्तर्गत बिहीबार भएको तेस्रो कुवेतविरुद्धको खेलमा नेपालले विजयी हासिल गरेको छ । संयुक्त अरब इमिरेट्स (युएई) को आइसिसी एकेडेमी ग्राउन्डमा भएको खेलमा नेपालले कुवेतलाई ९ विकेटले पराजित गर्दै लगातार दोस्रो जित हात पार्यो । यसअघि भएको दोस्रो खेलमा नेपालले भुटानलाई ८ विकेटले पराजित गरेको थियो ।

त्यस्तै नेपाल पहिलो खेलमा भने हङकङसँग ६ विकेटले पराजित भएको थियो । कुवेतले दिएको २८ रनको लक्ष्य नेपालले ३ दशमलब ३ ओभरमा केवल एक विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा इन्दु बर्माले १३ रन जोडिन भने कप्तान रुविना क्षेत्रीले १२ रन जोडिन् ।

कुवेतका लागि एकमात्र विकेट मारिया जस्वीले हात पारिन् । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कुवेत १५ दशमलब ४ ओभरमा सबै विकेट गुमाउँदै जम्मा २७ रन जोडेको थियो ।

कुवेतका लागि प्रियादा मुरालीले सर्वाधिक १० रन जोड्दा अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । कुवेतलाई सस्तैमा समेट्ने क्रममा नेपालकी सङ्गीता राई र कप्तान रुविना क्षेत्रीले समान तीन–तीन विकेट हात पारे भने करुणा भण्डारी र सरस्वतीकुमारी चौधरीले एक–एक विकेट लिए । कुवेत भने अघिल्ला दुबै खेलमा पराजित भएको थियो । कुवेत भुटानसँग ४० रन तथा मलेसियासँग ८१ रनले पराजित भएको थियो । नेपालले अब भोलि मलेसियासँग खेल्नेछ ।

ताजा खबर