दोहामा अमेरिका र तालिबानबीच वार्ता हुने

२०७८ मङ्सिर ८ बुधबार २१:०३:०० मा प्रकाशित

आगामी साता दोहामा संयुक्त राज्य अमेरिका र अफगानी तालिबान समूहबीच हुने वार्ताले अमेरिकासँगको राजनैतिक सम्बन्धमा ‘नयाँ अध्याय’ खोल्ने तालिबान समूहले जानकारी गराएको छ ।

अक्टोबर ९–१० मा कतारको राजधानीमा दुई पक्षबीच भएको भेटवार्तापछि तालिवानसँग वार्ता जारी रहने वासिङ्टनले मङ्गलबार जानकारी गराएको थियो । तालिबान समूहले आफ्नो आधिकारिक अरबी ट्वीटर अकाउन्टमार्फत् सार्वजनिक विज्ञप्तिमा भनेको छ, “आगामी हप्ता कतारमा अफगानिस्तान र अमेरिकाबीच वार्ताको नयाँ चरण सुरु हुनेछ ।”

वार्ताले दुई देशबीचको राजनीतिक सम्बन्धमा ‘नयाँ अध्याय खोल्ने’ आर्थिक मुद्दाहरूको समाधान गर्ने र अघिल्लो दोहा सम्झौतामा भएका शर्तहरूको कार्यान्वयनबारे छलफल गर्ने बताइएको छ ।”

अमेरिकी विदेश मन्त्रालयले प्रस्तावित दुई हप्ताको वार्ताले इस्लामी राज्य अफगानिस्तान र अल–कायदा समूहको खतराका साथसाथै मानवीय सहायता विरुद्ध लड्ने जस्ता विभिन्न मुद्दाहरूमा छलफल गर्ने बताइएको छ ।

वार्ताले २० वर्षे युद्धको दौरानमा अमेरिका तथा पश्चिमी मुलुकहरूलाई सहयोग गरेका अमेरिकी नागरिक तथा अफगानीहरूका लागि अफगानिस्तानबाट सुरक्षित मार्ग कसरी प्रदान गर्ने भन्ने कुरामा पनि ध्यान केन्द्रित गर्ने बताइएको छ ।

अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व अफगानिस्तानका लागि अमेरिकी विशेष प्रतिनिधि थोमस वेस्टले गर्नेछन् । गत हप्ता वेस्टले वासिङ्टनबाट तालिबानलाई निश्चित शर्तहरूमा आधारित भएर मात्र कुनै पनि आर्थिक तथा कूटनीतिक सहयोग गर्न सकिने बताएका थिए ।

उनले तालिवानले समावेशी सरकार स्थापना गर्नुपर्ने, अल्पसङ्ख्यक, महिला तथा बालिकाको अधिकारको सम्मान गर्नुपर्ने र शिक्षा र रोजगारीमा समान पहुँचको व्यवस्था गर्नुपर्ने बताएका छन् ।

अन्तरराष्ट्रिय समुदायबाट अझै औपचारिक मान्यता नपाएको तालिबान सरकारका विदेश मन्त्री अमीर खान मुट्टाकीले गत हप्ता अमेरिकी संसदलाई खुल्ला पत्रमा अमेरिकाद्वारा विभिन्न शर्तमा राखेको अफगान सम्पत्तिलाई नरोक्न आह्वान गरेका थिए ।

ताजा खबर