कोभिड संक्रमणबाट युरोपमा थप सात लाख मानिसको मृत्यु हुनसक्ने डब्ल्यूएचओको चेतावनी

२०७८ मङ्सिर ८ बुधबार १३:१४:०० मा प्रकाशित

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले कोभिडका कारण सन् २०२२ को मार्चसम्म युरोपमा थप सात लाख मानिसको मृत्यु हुनसक्ने चेतावनी दिएको छ ।

डब्ल्यूएचओले युरोप क्षेत्रमा राखेका ५३ देशमा अहिलेसम्म कोभिडका कारण १५ लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । सन् २०२२ को मार्चसम्म तीमध्ये ४९ देशका सघन उपचार कक्षमा उच्च वा चरम दबाव हुने चेतावनी दिएको छ ।

युरोपमा अहिले कोरोनाभाइरस सङ्क्रमणमा वृद्धि भइरहेको छ जसका कारण अस्ट्रियामा पूर्ण लकडाउन लगाइएको छ भने अन्य देशमा नयाँ प्रतिबन्धात्मक व्यवस्थाबारे योजना बनिरहेछ ।

फ्रान्स, जर्मनी र ग्रीसलगायत अन्य केही देशहरूले चाँडै नै कोभिड खोपको बूस्टर मात्रा लगाएका मानिसलाई मात्रै पूर्ण मात्राका खोप लगाएका मानिस मान्ने नियम बनाउन लागेका छन् । तर केही देशहरूमा नयाँ प्रतिबन्धात्मक व्यवस्थाको व्यापक विरोध भइरहेको छ। द नेदरल्यान्ड्समा आंशिक लकडाउनको घोषणासँगै केही रात हिंसक प्रदर्शन भएको थियो ।

डब्ल्यूएचओको प्रतिवेदनमा युरोपमा कोभिड मृत्युको प्रमुख कारण बनेको बताइएको छ। पुष्टि भएका कोभिडसम्बन्धी कारणले हुने मृत्यु हालैका दिनमा दोबर भएर दैनिक ४ हजार दुई सय पुगेको डब्ल्यूएचओले बताएको छ ।

रुसमा मात्रै हालैका दिनहरूमा दैनिक मृत्यु सङ्ख्या १२ सय नाघेको छ । डब्ल्यूएचओका अनुसार ठूलो सङ्ख्यामा खोप नलगाएका मानिस र केही देशमा डेल्टा भेरियन्टको कारण युरोपमा सङ्क्रमण दर बढेको हो ।

डब्ल्यूएचओका युरोप निर्देशक डा. हान्स क्लुगले खोप नलगाएकाहरूलाई तुरुन्तै खोप लगाउन आग्रह गरेका छन् । डब्ल्यूएचओको युरोप क्षेत्रमा युरोपेली राष्ट्रहरूका साथै इजरायल, ताजिकिस्तान र उज्बेकिस्तानजस्ता देशलाई राखेको छ।

ताजा खबर