पौषे औँशीका अवसरमा उत्तरगयामा श्राद्ध सम्पन्न

२०७४ पौष ४ मंगलबार ०८:२५:०० मा प्रकाशित

त्रिशूली, नुवाकोट, ४ पुस । पौषे औँशीका अवसरमा नुवाकोट र रसुवाको सिमाना बेत्रावतीमा आफ्ना दिवंगत पितृको सम्झनामा सोमबार मानिसहरुले श्राद्ध सम्पन्न गरेका छन् । 

पौषकृष्ण औँशीका दिन उत्तरगयामा आई पितृलाई पिण्डदान दिई श्राद्ध गर्नाले पितृ मोक्ष हुन्छन् भन्ने विश्वास छ । त्रिशूली र वेत्रगंगाको संगमस्थल बेत्रावतीको उत्पत्ति समुद्रमन्थनको घटनासँग जोडिएको पुराणहरुमा उल्लेख छ । 
देवता र दानवले समुद्रमन्थन गर्दा निस्किएको कालकूट विष पिउँदा डाहले छट्पटिएका शिव उत्तरापन्थ लागी सोही ठाउँमा बेतको लौरोले पहाडमा हान्दा त्यहाँबाट बगेको बेत्रगंगा र अझै माथि नीलाद्रि पर्वतमा त्रिशूलले छेड्दा निस्किएको पानीबाट बगेको त्रिशूली नदीको संगममा पौषकृष्ण औँशीका दिन सबै देवता र पितृको जमघट हुने विश्वासका साथ श्राद्ध गर्ने गरिएको हो । 

यहाँको श्राद्धको महत्व हजारौँ वर्ष पहिले ऋषि महर्षिको पालादेखि नै रहेको स्थानीय शिक्षक गणेश लामिछाने बताउँछन् । पौष कृष्ण औँशीका दिन बेत्रावतीमा आमाबाबु नभएकाहरुले यहाँ सके प्रत्येक वर्ष र नसके जीवनमा एक पटक भए पनि श्राद्ध गर्ने चलन छ । 
श्राद्धका लागि पवित्र मानिएका हिन्दकुशक्षेत्रका चार गयामध्ये एउटा गयाका रुपमा उत्तरगयामा पिण्डदान गर्ने चलन छ । चार गयामध्ये तीन गया भारतमा र एक नेपालमा पर्छ । भारतमा रहेको चारधाम दर्शन गर्नुभन्दा पहिले यहाँको उत्तरगयामा दर्शन गरे पुण्य प्राप्त हुने हिन्दू धर्म अनुयायीको भनाइ छ । यहाँको महिमा हिमवत् खण्डमा समेत उल्लेख छ । 
काठमाडौँ, ललितपुर, धादिङ, बारा, पर्सा, चितवन, मकवानपुर, रुपन्देहीलगायत विभिन्न भागबाट श्रद्धालुको घुइँचो लागेको स्थानीय गोसाइँकुण्ड युवा क्लबका अध्यक्ष सुरज लवटले बताए । 

नेपाल तिब्बतबीच भएको युद्धको सन्धिस्थलसमेत यहीँ भएको थियो जहाँ हरेक वर्ष माघ १ गते गोरुजुधाइ कार्यक्रम पनि हुने गरेको छ । 

ताजा खबर