कस्तो रह्यो ए डिभिजन लिगको पहिलो चरण ? 

२०७८ मङ्सिर ७ मंगलबार १३:२३:०० मा प्रकाशित

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगमा पहिलो चरणका खेल सम्पन्न भएका छन् ।  ए डिभिजनका १४ टिमलेनै एक एक खेल खेल्दा थ्रि स्टार अंक तालिकाको शीर्ष स्थानमा रह्यो । ए डिभिजन लिगको इतिहासमै पहिलो पटक फ्लड लाइटमा लिगका खेल संचालन भए । यस्तै साताको चार दिन मात्र खेल खेलाइने नियम हुँदा  खेलाडीले आरामको मौका पाएका छन् । 
कस्तो रह्यो त पहिलो चरण ?  
फ्रेन्डस र नव प्रवेशी क्लब सातदोबाटो युथ क्लब बीचको खेल संगै सिजनको सुरुवात भएको थियो । गत शुक्रबार  दशरथ रंगशालामा भएको लिगको उद्घाटन खेल फ्लड लाइटमा भएको  थियो । खेलाडी र समर्थक दुवैका लागि घरेलु  फुटवलमा नया अनुभव थियो । मेघराज केसीको प्रशिक्षणमा रहेको सातदोबोटो र गृगेन्द्र मिश्र प्रशिक्षक रहेको फ्रेन्डसलाइ  बालगोपाल महर्जनको साथ छ ।   लिगको पहिलो खेलमा गोल हुन सकेन् । अर्थात दुवै टोलीले गोल रहित बराबरी खेल्दै अंक बाडे । फ्रेन्डसका रोनेल एन्थोनी पल  ७६ औं मिनेटमा दोहोरो पहेलो कार्ड पाउदै मैदान बाहिरिएका थिए । यो नै पहिलो चरणको एक मात्र रातो कार्ड हो । 
सिजनको पहिलो गोल 
जारी सिजनको पहिलो गोल संकटा क्लबका लक्ष्मण रुचालको नाममा रह्यो । संकटा क्लबले हिमालयन शेर्पा संग एक एक गोलको बराबरी खेलेको थियो ।  रुचालले ६० औं मिनेटमा गोल गर्दै संकटालाइ अग्रता दिलाए थिए । यो संगै उनी जारी लिगमा  गोल गर्ने पहिलो खेलाडी बने । तर संकटाको अग्रता लामो समय टिकेन् । ६४ औं मिनेटमा त्रिदेव गुरुङले हिमालयन शेर्पालाई हारबाट जोगाए । योसँगै हिमालयन शेर्पाले संकटाबाट लिगमा पहिलो पटक अंक लिन सफल भयो । यसअघि भएका चार खेलमा संकटा विजयी भएको थियो । 
लक्ष्मण रुचालले खेलपछि मात्र आफू जारी लिगमा गोल गर्ने पहिलो खेलाडी बनेको बारे जानकारी भएको प्रतिक्रिया दिएका थिए । उनले फ्रेन्डस र सातदोबाटो बीचको खेलको नतिजाबारे थाहा नपाएको बताएका थिए । 

लिगमा सुरुवाती दुई खेल बराबरीमा सकिए । पहिलो  स्पष्ट जित हात पार्ने टोली बन्यो थ्रि स्टार । उपाधि दावेदार टोली थ्रि स्टारले च्यासल युथ क्लब माथि तीन शून्य गोलको सहज जित हात पारेको हो । ललितपुर डर्बीमा थ्रि स्टारलाई जित दिलाउने क्रममा निशान खड्का, रफायल बिडियास रिम र अनन्त तामाङले गोल गरे ।  एक शून्यले पछि परेको स्थितिमा च्यासलले पेनाल्टीको अवसर पाएको थियो ।  तर नेपाली मूलका इटालियन विकास मिराग्लियाको प्रहार थ्रि स्टारका गोलकिपरले विफल पारिदिएका थिए । विराज महर्जनको कप्तानीमा रहेको च्यासल माथिको यो जितले थ्रि स्टारको मनोवल उच्च बनेको छ । इटालीको युवा टोलीबाट खेलिसकेका विकास जारी लिगमा आकर्षणको केन्द्रमा रहेका छन्  । पेनाल्टीमा चुकेपछि  उनले सामाजिक संजालमार्फत समर्थकसँग माफी मागेका थिए । 

उपाधि दावेदार अर्को टोली मनाङ मस्र्याङदी क्लबले पनि विजयी सुरुवात गरेको छ । ए डिभिजन लिगको सर्वाधिक आठ पटकको विजेता मनाङले जावलाखेल माथि एक शुन्य गोलको सांघुरो जित निकाल्यो । पहिलो हाफ बराबरीमा रोकिएको मनाङका लागि दिनेश राजवंशीले डेडलक तोडे । ५७ औं मिनेटमा दिनेशले गरेको गोलनै मनाङको जितमा निर्णायक बन्यो । योसँगै जावलाखेल लिगमा  लगातार चौथो  खेलमा मनाङ विरुद्ध गोल गर्न असफल भयो । 
साविक विजेता मच्छिन्द्र 
यो सिजन पनि मच्छिन्द्र क्लबलाइनै उपाधिको प्रमुख दावेदार टिमका रुपमा हेरिएको छ । कागजमा सवैभन्दा वलियो टोली साविक विजेता मच्छिन्द्रनै हो  ।  यो सिजन मात्र उसले चार स्ट्राइकरलाइ अनुबन्धन गरेको थियो । सुजल श्रेष्ठको कप्तानीमा रहेको टोलीमा राष्ट्रिय  टिमका खेलाडीको बाहुल्यता छ । मच्छिन्द्रले  न्युरोड टिम एनआरटीसँगको खेलमार्फत उपाधि रक्षाको यात्रा सुरुवात गरेको छ । एनआरटीले कडा चुनौती दिएपनि मच्छिन्द्र दुई एक गोलको साथ तीन अंक जोड्न सफल भयो  ।  दुवै गोल सुनिल बलले गरेका हुन् । उनले १२  औं मिनेटमा मच्छिन्द्रलाइ अग्रता दिलाएका थिए । ५४ औं मिनेटमा एनआरटीका एरिक बिस्टले आकर्षक  फ्रि किक गोल गर्दै खेल बराबरी गरे । तर ८० औं  मिनेटमा सुनिलले फेरि गोल गरेपछि मच्छिन्द्र सुखद सुरुवात गर्न सफल भयो । सुनिलको मिच्छन्द्रबाट लिगमा यो  डेब्यु खेल थियो । 

गत सिजन  लिग जित्नबाट चुकेको त्रिभुवन आर्मी फुटबल क्लबले चीर प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबसँग अंक बाँड्यो । लिगको पहिलो खेलमानै पुलिसको सामना गरेको आर्मी एक शून्य गोलले पछि परेको स्थितिबाट खेलमा फर्किएको थियो ।  विभागीय डर्बीमा पुलिसले ५१ औं मिनेटमा संतोष हेमरनको गोलमार्फत अग्रता लिएको थियो । ६१ औं  मिनेटमा विवेक बस्नेतले बराबरी गोल गर्दै आर्मीलाई हारबाट जोगाए । 
विमल र विक्रमको पुनरागमन 
चोटका कारण लामो समय मैदान बाहिर रहेका विक्रम लामा र विमल घर्ती मगरले जारी लिगमार्फत पुनरागमन गरेका छन् । विक्रम र विमल दुवैको कतारमा खुट्टाको शल्यकृया गरिएको थियो । विक्रम एक वर्षपछि मैदानमा फर्कदा  उनको कप्तानीमा रहेको थ्रि स्टारले पहिलो खेलमानै जित हात पारेको छ ।  लिगको पहिलो खेलपछि बिक्रमले सामाजिक संजालमा लेखे– १२ महिना पछि पहिलो  पटक प्रतिस्पर्धात्मक फुटबलमा फर्कन पाउँदाको सुखानुभूति शब्दहरुमा वर्णन गर्न सकिरहेको छैन । धन्यवाद अखिल नेपाल फुटबल संघ लगायत सम्पूर्ण सहयोगी वर्गहरु । सधैं साथ दिनुहुने नेपाली फुटबल प्रेमीहरुबाट यति लामो समय मैदान बाहिर रहँदा तपाइँको अमूल्य साथ, माया मेरो लागि सधै हौसलाले भरिपूर्ण र विषेश रह्यो । त्यो निकै कठिन समयमा पाएको थिएँ सदैव स्मरण रहनेछ । यहाँहरुको माया र साथलाई म मैदानभित्र सक्दो मेहनत गरेर न्याय गर्ने प्रयास गर्नेछु । यो अनवरत यात्राका सुखद पानाहरुम अब हामी साथ यात्रा गर्ने विश्वास दिलाउन चाहन्छु । 

विमल मच्छिन्द्रमा आवद्ध छन्   । अघिल्लो सिजन विमलले अन्तिम खेल खेलेका थिए । जारी लिगको  पहिलो खेलमा विमल सब्सिच्युट खेलाडीका  रुपमा मैदान प्रवेश गरेका थिए । उनी ८० औं मिनेटमा अभिषेक रिजालको स्थानमा मैदान प्रवेश गरेका थिए । उनले गोलका केही सुन्दर मौकाको  सदुपयोग गर्न सकेनन् । उनले पनि समाजीक संजाल मार्फत आफ्नो पुनरागमनमा खुशी लागेको प्रतिक्रिया दिए ।  
अब शुक्रबार खेल
आगामी शुक्रबारबाट लिगको दोस्रो चरणको खेल सुरु हुनेछ । यो सिजन अखिल नेपाल फुटबल संघले साताको चार दिन अर्थात् शुक्रबार, शनिबार, आइतबार र सोमबार मात्र खेल संचालन गर्ने भएको छ । शुक्रबार दिउँसो एक बजे हुने पहिलो खेलमा सातदोबाटो र थ्रि स्टार क्लब बीच  प्रतिस्पर्धा हुनेछ  । सोही दिन साँझ पौने ५ बजे संकटा र फ्रेन्डस क्लब आमने सामने हुनेछन् ।

ताजा खबर