गाँजा बेचेको आरोपमा एमजनका कार्यकारी निर्देशकलाई मुद्दा

२०७८ मङ्सिर ६ सोमबार २२:३६:०० मा प्रकाशित

भारतमा गाँजा तस्करीका लागि अनलाइन किनमेल वेबसाइट एमजन प्रयोग भएको आरोप लागेपछि उक्त कम्पनीका वरिष्ठ अधिकृतहरूमाथि लागुपदार्थ कारोबारको मुद्दा परेको छ । गत साता मध्यप्रदेश प्रहरीले दुई व्यक्तिलाई भारतका अन्य राज्यमा २० केजी गाँजा तस्करी गरेको आरोपमा पक्राउ गरेको थियो ।

ती व्यक्तिले एमजन वेबसाइटमा “स्टिभिया“ को पात भन्दै भाङ बेचेका थिए । एमजनले आफ्नो साइटमा गैरकानुनी पदार्थ बेच्न राख्न नपाइने नियम भएको बताएको छ । कम्पनीले त्यस्तो कार्य गर्ने व्यापारीमाथि कडा कारबाही गर्ने बताएको छ । यो विषय हामीलाई जानकारी गराइएको छ र यसमाथि अनुसन्धान गरिरहेको एमजनले बताएको छ ।

राज्य प्रहरीले एमजन इन्डियामा कार्यकारी निर्देशकहरूमाथि लागुऔषधसम्बन्धी कानुनअन्तर्गत मुद्दा चलाइएको बताएको छ । अनुसन्धानको क्रममा दिइएको दस्ताबेजमा फरकफरक कुरा परेको र छलफलका क्रममा पत्ता लागेको तथ्यका आधारमा उनीहरूमाथि मुद्दा दर्ता गरिएको प्रहरीको विज्ञप्तिमा उल्लेख छ । यो वेबसाइट प्रयोग गरेर लगभग एक लाख ४८ हजार अमेरिकी डलर बराबरको गाँजा बेचिएको अनुमान छ ।

यो घटनाबाट एमजनलाई भारतभित्र व्यापार गर्न अर्को कानुनी समस्या बनेको छ। भारतमा एमजनमाथि प्रतिस्पर्धासम्बन्धी विषयमा पनि अनुसन्धान भइरहेको छ । एमजन र अर्को अमेरिकी कम्पनी वाल्मार्टद्वारा सञ्चालित फ्लिपकार्टले केही व्यापारीहरूलाई विशेष व्यवहार गरेको आरोपबारे छानबिन भइरहेको छ ।

एमजनले सेप्टेम्बरमा एक वा बढी कर्मचारीले भारतीय सरकारी अधिकारीहरूलाई घुस दिएको दाबीबारे आन्तरिक छानबिन सुरु गरेको थियो । हालैका वर्षहरूमा भारतीय प्रहरीले लागुऔषध तस्करी र प्रयोगविरुद्ध आफ्नो कारबाहीलाई तीव्र बनाएको छ । गत वर्ष धेरै चर्चित भारतीय कलाकार र टेलिभिजन प्रस्तोताहरू लागुऔषधसम्बन्धी अनुसन्धानको दायरामा परेका थिए ।

गत महिना चर्चित कलाकार शाहरुख खानका २३ वर्षीय छोरा आर्यन खानलाई एउटा समारोहमा लागुऔषध प्रयोग गरेको आरोपमा पक्राउ गरिएको थियो। खानले सो कुरा अस्वीकार गरेका छन्।


 

ताजा खबर