अब १८ वर्षभन्दा माथिका सबैलाई खोप लगाइने

२०७८ मङ्सिर ६ सोमबार १३:४६:०० मा प्रकाशित

काठमाडौं । सरकारले अब १८ वर्षभन्दा माथिका कोरोना भाइरसविरुद्धको खोप लगाउन छुटेका सबैलाई खोप लगाउन थालेको छ । पहिले लक्षित वर्गलाई मात्र लगाउँदै आएको खोप अहिले १८ वर्षभन्दा माथिका सबै सर्वसाधारणलाई लगाउन थालिएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले खोप नियमित आउन थालेकाले १८ वर्षभन्दा माथिका सबैलाई नियमित खोप लगाउन थालिएको जानकारी दिए । उनले यसअघि खोप लगाउन छुटेका सबैलाई खोप केन्द्रमा गई खोप लगाउन आग्रह गरेका छन् । सरकारले आगामी पुस मसान्तभित्र दुई तिहाई र चैतमसान्तसम्म लक्षित सबैलाई खोप लगाउने लक्ष्य राखेको छ ।

दुई करोड १७ लाखलाई खोप लगाउने लक्ष्य राखिएको छ । अहिलेसम्म कूल जनसङ्ख्याको ३० प्रतिशत जनसङ्ख्यालाई पहिलो मात्रा र २६ प्रतिशत जनसङ्ख्यालाई दोस्रो मात्राको खोप प्रदान गरिएको छ ।

काठमाडौँ जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख शम्भु काफ्लेले १८ वर्षभन्दा माथिका सबैलाई काठमाडौँका पाँच खोप केन्द्रबाट नियमित खोप प्रदान गरिरहेको बताए । उनले भेरोसेल र एस्ट्राजेनिका खोप दिइसकेको बताए ।

उनका अनुसार कार्यालयले वीरेन्द्र सैनिक अस्पताल, नेपाल प्रहरी अस्पताल, कलङ्कीको शहीद मेमोरियल अस्पताल, बल्खुमा बयोधा अस्पताल, गोगंबुस्थित नयाँ बसपार्कको लोत्से भवन र जडीबुडीस्थित जडीबुडी प्रशोधन केन्द्रमा नियमित खोप प्रदान गरिरहेको छ । यसैगरी उनले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई पनि हिजोदेखि फाइजर खोप उपलब्ध गराउन थालिएको बताए ।

उनले शहीद गङ्गालाल हृदयकेन्द्र, वीरेन्द्र सैनिक अस्पताल, वीर अस्पताल र सिभिल अस्पतालमा फाइजर खोप लगाउन थालिएको छ । फाइजर खोप अभियान भोलिसम्म सञ्चालन हुने छ ।

यसैगरी सबै गर्भवती महिलालाई पनि खोप लगाउन सुरु गरिएको छ । यसअघि उच्च जोखिम भएका गर्भवती महिलालाई मात्र खोप लगाउने गरेता पनि अबदेखि गर्भवती भएको तीन महिना पूरा भएका सबै महिलालाई लगाउन थालिएको मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले जानकारी दिए ।

ताजा खबर