महिलालाई टेलिशृङ्खलामा नदेखाउन तालिबानको निर्देशन

२०७८ मङ्सिर ६ सोमबार १२:२८:०० मा प्रकाशित

अफगानिस्तानमा तालिबान सरकारले महिलाहरूलाई टेलिभिजनमा प्रसारण हुने कार्यक्रममा अभिनय गर्न प्रतिबन्ध लगाउने सहितका नयाँ नियमहरू लागु गरेको छ । तालिबानले महिला पत्रकार र कार्यक्रम प्रस्तोतालाई पनि टाउको ढाक्न निर्देशन दिएको छ।

यद्यपि निर्देशिकामा कस्तो प्रकारले ढाक्ने भन्ने कुरा स्पष्ट छैन । पत्रकारहरूले केही नियमहरू अस्पष्ट रहेको र त्यसलाई जसरी पनि व्याख्या गर्न सकिने बताएका छन् । अगस्टमा देशको सत्ता आफ्नो हातमा लिएको तालिबानले बिस्तारै कडा नियमहरू लागु गर्दै जाने डर धेरै जनाले व्यक्त गरेका थिए ।

अमेरिकी र सहयोगी सेनाको बहिर्गमनपछि सत्ता नियन्त्रणमा लिनेबित्तिकै तालिबानले महिलाहरूलाई विद्यालय नगई घरमै रहन आदेश दिएको थियो । सन् १९९० को दशकमा तालिबानले सत्ता सञ्चालन गर्दा महिलालाई शिक्षामा र काम गर्न प्रतिबन्ध लगाएको थियो । अफगानिस्तानका टेलिभिजन च्यानलहरूलाई दिइएको नयाँ निर्देशिकामा आठवटा नियमहरू छन् ।

ती नियममा इस्लाम वा शरिया कानुन एवम् अफगान मूल्यमान्यताविपरीतका चलचित्रहरूदेखि पुरुषका गुप्ताङ्ग देखाउन नपाइनेसम्मका कुराहरू छन् । धर्मलाई अपमान गर्ने कुराहरू वा अफगानका लागि आपत्तिजनक कुरा भएका हास्य र मनोरञ्जनात्मक सामग्री पनि देखाउन नपाइने नियम बनाइएको छ । तालिबानले विदेशी मूल्यमान्यता प्रचार गर्ने विदेशी चलचित्रहरू देखाउन नपाइने बताउँदै आएको छ ।

अफगान टेलिभिजन च्यानलहरूमा महिलाप्रधान विदेशी टेलिशृङ्खला प्रसारण हुँदै आएका थिए । अफगानिस्तानका पत्रकारहरूको एक संस्थाका सदस्य हुजातुल्लाह मुजाद्देदीले नयाँ नियमहरू अनपेक्षित भएको बताएका छन् ।

तालिबानको महिलाहरूलाई विद्यालयबाट बाहिरै राख्ने निर्णयले अफगानिस्तानलाई आधा जनसङ्ख्या शिक्षाबाट वञ्चित भएको विश्वको एक मात्र देश बनाएको छ । राजधानी काबुलका नगरप्रमुखले नगरपालिकाका महिला कर्मचारीलाई आफ्नो काम पुरुषले गर्न नसक्ने भए मात्र कार्यालय आउन नत्र घरै बस्न आदेश दिएका छन् ।

तालिबानले महिलामाथि शिक्षा र रोजगारीमा लगाइएको प्रतिबन्ध अस्थायी भएको र त्यो विद्यालय एवं कार्यक्षेत्रहरू उनीहरूका लागि सुरक्षित बनाउनका लागि मात्रै लागु गरिएको बताउँदै आएका छन् ।

ताजा खबर