परीक्षण उडानमा विद्युतीय विमानको तीनवटा कीर्तिमान कायम

२०७८ मङ्सिर ६ सोमबार १२:२०:०० मा प्रकाशित

रोल्स–रोयसले आफूले निर्माण गरेको ‘स्पिरिट अफ इनभेशन’ विमान विश्वको सबैभन्दा तीव्र गतिको विद्युतीय हवाईजहाज भएको दाबी गरेको छ । भर्खरै गरिएको एउटा परीक्षणमा उक्त विमान ६२३ किलोमिटर प्रतिघण्टाको गतिमा उडेको कम्पनीले जनाएको छ ।

उक्त विमानले तीनवटा फरक दूरीमा नयाँ विश्वकीर्तिमान गरेको विश्वास गरिएको छ । रोल्स–रोयसले प्रमाणीकरणका लागि सम्बन्धित तथ्याङ्क वर्ल्ड एयर स्पोर्ट्स फेडरेशनलाई पठाएको छ । बेलायतको विल्टशरमा नोभेम्बर १६ मा उक्त विमानका परीक्षण उडानहरू गरिएका थिए ।

कम्पनीका एक निर्देशक फिल ओ’डेलले उडाउँदा स्पिरिट अफ इनभेशन विमानले सबैभन्दा तीव्र गति हासिल गरेको थियो । रोल्स–रोयसका अनुसार स्पिरिट अफ इनभेशनको गति यसअघि सन् २०१७ मा कीर्तिमान राखेको जीमन्स ईएयरक्राफ्टले बनाएको एक्स्ट्रा ३३० एलई एरोब्याटिक विमानभन्दा २१३.०४ किलोमिटर प्रतिघण्टाले बढी थियो ।

तीन किलोमिटर उड्दा रोल्स–रोयसको विमानको गति ५५५.९ किलोमिटर प्रतिघण्टा र १५ किलोमिटर उड्दा ५३२.१ किलोमिटर प्रतिघण्टा पुगेको थियो । अनि तीन हजार मिटरको उचाइमा २०२ सेकन्डमा पुगेर यसले सबैभन्दा चाँडै त्यति माथि पुग्ने कीर्तिमान ६० सेकन्डले घटाएको विश्वास गरिएको छ ।

यो विमानले चार सय किलोवाटको विद्युतीय पावरट्रेन प्रयोग गर्छ जसको क्षमता ५३५ बीएचपी सुपरकारको जति हुन्छ । रोल्स–रोयसले आफूले प्रयोग गरेको ’प्रपल्शन ब्याटरी प्याक’ एकदम शक्तिशाली भएको र त्यो ७ हजार ५०० वटा फोन चार्ज गर्न सक्ने खालको भएको बताएको छ ।

रोल्स–रोयसले फेडरेशन एरोनटिक इन्टर्न्याश्नल (एफएआई) ले आफ्नो उपलब्धिलाई प्रमाणीकरण गरिदिने र चाँडै त्यसलाई विश्व कीर्तिमानको मान्यता दिने अपेक्षा गरेको छ ।

ताजा खबर