नेपाल र बङ्गलादेशबीच क्षेत्रीय पर्यटन प्रवद्र्धनका लागि समझदारी

२०७८ मङ्सिर ५ आइतबार २३:४७:०० मा प्रकाशित

काठमाडौं । क्षेत्रीय पर्यटन प्रवद्र्धनका लागि साझा रणनीतिका साथ अघि बढ्नुपर्नेमा नेपाल र बङ्गलादेशका पर्यटन व्यवसायीबीच समझदारी बनेको छ ।

दुई देशीय (नेपाल–बङ्गलादेश) पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले पाटा बङ्गलादेश च्याप्टरको सहकार्यमा आइतबार आयोजना गरेको ‘नेपाल–बङ्गलादेश पर्यटन प्रवद्र्धन एन्ड बी टु बी एक्सचेन्ज कार्यक्रम’ का दौरानमा क्षेत्रीय पर्यटन प्रवद्र्धनका लागि साझेदारिता अघि बढाउने विषयमा छलफल भएको हो ।

क्षेत्रीय पर्यटन प्रवद्र्धनअन्तर्गत बी टु बी (बिजनेस टु बिजनेस) कार्यक्रम पनि सम्पन्न गरिएको छ । नोभेम्बर १६ देखि २१ सम्म सञ्चालन भएको उक्त कार्यक्रमअन्तर्गत गन्तव्य प्रवद्र्धनदेखि व्यावसायिक साझेदारी एवं प्रवद्र्धनका विषयमा छलफल भएको थियो ।

पाटा बङ्गलादेश च्याप्टरका अध्यक्ष साहिद हमीद, महासचिव तफिक रेहेमानसहित पर्यटन व्यवसायी कात्तिक ३० गते नेपाल आएका थिए । बङ्गलादेशका टूर अप्रेटर, मिडिया र युनिभर्सिटिका स्टुडेन्स च्याप्टरका प्रतिनिधि पनि सहभागी थिए ।

उक्त टोली आइतबार स्वदेश फर्किएको छ । सोही सन्दर्भमा काठमाडौँमा शनिबार आयोजित ‘टुरिज्म प्रमोसन एन्ड एक्सजेन्ज प्रोग्राम’ सम्बन्धी औपचारिक समारोह तथा बी टु बी कार्यक्रम गरियो । उक्त कार्यक्रममा दुवै देशबीचको पर्यटन प्रवद्र्धन, व्यवसायिक सम्भावना र आगामी सहकार्यबारे छलफल भएको थियो ।

बङ्गलादेश पर्यटन बोर्डका उपनिर्देशक मोहम्मद साइफुल हसनले दुवै देशको प्राकृतिक सुन्दरता र भौगोलिक विविधतालाई पर्यटनको माध्यमबाट लाभ लिनेगरी रणनीतिक प्रवद्र्धनका कार्यक्रम बनाइनुपर्ने औँल्याए । कार्यक्रमका अवसरमा नोभेम्बर १७ देखि १९ सम्म प्रसिद्ध पर्यटकीय क्षेत्र पोखराको परिचयात्मक भ्रमण आयोजना गरिएको थियो ।

पोखरा पर्यटन परिषद्सँगको सहकार्यमा पोखराको परिचयात्मक भ्रमणसँगै सरोकारवाला व्यवसायीसँग अन्तक्र्रिया गरिने आयोजक पाटा नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेशसिंह बुडालले जानकारी दिए ।
 

ताजा खबर