नेपाली चलचित्र फेरी ‘चुरीफुरी’ देखाउँदै, ‘चिसो मान्छे’ तात्दै

२०७८ मङ्सिर ४ शनिबार १२:३४:०० मा प्रकाशित

काठमाडौं । चलचित्र जगत पुनः जुर्मुराएको छ । हलहरु खुलेका छन् । नेपाली, हिन्दी र बलिउड चलचित्रको प्रदर्शनको बहार सुरु भएको छ । मल्टीप्लेक्स हलमा पपकर्न र कफी खाँदै यो जाडोमा चलचित्र हेर्नुको बेग्लै मजा ।

भर्खर व्याचलरको परीक्षा सकेर सुस्ताएका भक्तपुर, बोडेका पवन शाक्यले शुक्रवार सिभिल मलमा गएर हिन्दी चलचित्र ‘बबली और बन्टी–२’ को फस्र्ट डे फस्र्ट शो हेरे । साथीहरुसँग धेरै पछि हलमा गएर चलचित्र हेर्दा पवन औधि रमाए ।

‘हल भनेको हल हो, हलमा चलचित्र हेर्नुको मजा बेग्लै छ’, पवन भन्छन्, ‘मुड फ्रेस भयो ।’ पवनसँगै चलचित्र हेर्न पुगेका रानीबारीका सुशान्त गैरेलाई चाहिँ सेफ अली खान र रानी मुखर्जीको ‘बबली और बन्टी’ को सिक्वेल खासै मन परेन । अमिताभ बच्चन र अभिषेक बच्चनसँग रानी मुखर्जीले जमेर अभिनय गरेको यसकै पहिलो चलचित्र चाहिँ दामी भएको सुशान्तले बताए ।

सुशान्तले केही दिनअघि हिन्दी चलचित्र ‘सूर्यवंशी’ पनि हेरेका थिए, तर अक्षयकुमारको हाटहुट फाइटबाहेक कथावस्तु खासै मन परेन, उनलाई । ‘होहल्ला धेरै भए पनि सूर्यवंशीमा कुनै दम छैन’, सुशान्त भन्छन्, ‘भारत–पाकिस्तान र आतंकबादीको उही घिसापिटा पुरानै पाराको कथा रहेछ । कोरोनापछिको चलचित्र भएकाले मात्र दर्शक ओइरिएका हुन् ।’

सिटी सेन्टरमा पनि उस्तै घुँईचो छ । एकाध हिन्दी चलचित्र प्रदर्शनमा आए पनि दमदार नेपाली चलचित्र चाहिँ अहिलेसम्म  प्रदर्शन भएको छैन, तर अब चाँडै नै नेपाली चलचित्रको बाढी नै आउँदैछ । र, पवन र सुशान्तजस्ता युवा दर्शक उम्दा नेपाली चलचित्रको प्रतिक्षा गरिरहेका छन् ।

नेपाली चलचित्रको लहर

 Over dose

अमेरिकामा रहेका गैरआवासीय नेपालीले बनाएको चलचित्र ‘ओभर डोज’ मङ्सिर १७ मा प्रदर्शन हुँदैछ । पुस २ मा ‘चपली हाइट–३’ प्रदर्शन हुने नै भयो । स्वस्तिमा खड्का र अर्पण थापा अभिनित चलचित्र अर्जुन कुमारले निर्माण गरेका हुन् भने निकेश खड्का निर्देशक छन् ।

पुस ९ मा ऋषि आचार्य निर्देशित चलचित्र ‘चुरीफुरी’ प्रदर्शनमा आउँदैछ । ‘चुरीफुरी’ विशुद्ध पारिवारिक र हास्य रसमा निर्माण गरिएको हो । यसैगरी पुस २३ मा चलाचित्र ‘आकाशे पानी’ को डेट छ । गौरव पहारी, नीता ढुङ्गाना र विल्सनविक्रम राईको मुख्य भूमिका रहेको यो चलचित्रको पनि निकै प्रतिक्षा छ ।

माझिएका निर्देशक सुदर्शन थापाको ‘म यस्तो गीत गाउँछु–२’ माघ १९ मा प्रदर्शन हुँदैछ । फागुन २३ मा प्रदर्शन हुने ‘लप्पन छप्पन–२’ मा सौगात मल्ल र अर्पण थापाले अभिनय गरेका छन् । सुदर्शन थापाकै निर्देशनमा बनेको चलचित्र ‘सम्हालिन्छ कहिले मन’ फागुन २७ मा प्रदर्शन हुनेछ ।

चलचित्र ‘ए मेरो हजुर–४’ले चैत २५ गतेको मिति पाएको छ । झरना थापाको निर्देशन र सुनिलकुमार थापाको निर्माण रहेको यो चलचित्रमा अनमोल केसी र सुहाना थापाको अभिनय छ ।

चैत ४ गते महेशबाबु तिमल्सिनाले निर्माण गरेको चलचित्र ‘चिसो एस्ट्रे’ प्रदर्शन हुनेछ । चैत १८ मा ‘पासो’ र चैत ३० मा दीपेन्द्र के. खनालको ‘चिसो मान्छे’को प्रदर्शनको मिति पक्का भएको छ ।

चलचित्र ‘तिम्रो मेरो साथ’ पनि पुरा भइसकेको छ । रमेश एमके पौडेल निर्माता निर्देशक रहेको यो चलचित्रको कार्यकारी निर्मातामा सबिर श्रेष्ठ हुन् । पुष्प खड्का, साम्राज्ञी आरएल शाह, सरोज खनाल र सन्दीप क्षेत्रीलगायतले यसमा अभिनय गरेका छन् ।

‘डाँडाको बरपिपल’ झैं नहोस्

Chiso Manchhe

हिन्दी चलचित्र प्रदर्शनको लहर चलीरहेको बेला नेपाली चलचित्रले पनि आफुलाई दौडमा अघि सारेकै हो । मंसिरको मध्यदेखि यो वर्षभरीकै लागि चलचित्र प्रदर्शनको मिति फिक्स भइसकेको छ । बस हेर्नु छ, ति चलचित्र कस्ता छन् ?

कोरोना कहरपछि पहिलो पटक हलमा चलेको ‘डाँडाको बरपिपल’ पहिलो गाँसमै ढुंगा सरह भयो । यो चलचित्रले खासै कमाएन । शोभित बस्नेत आदि निर्देशकले पनि अब ठण्डा दिमागले चलचित्रको कथावस्तु र प्रस्तुतीबारे पुनर्विचार गर्नुपर्ने देखिन्छ ।

‘छक्का पन्जा, लुट, पशुपतिप्रसाद, जात्राजस्ता चलचित्र बन्यो भने हलमा दर्शकको कमी हुँदैन, अब नेपाली चलचित्रकर्मी पनि तात्नुपर्छ’, चलचित्रका पुराना पारखी मैतीदेबिका हस्तबहादुर केसी भन्छन्, ‘बम्बइया फर्मुलावाला चलचित्र बनाएर काम छैन, खँदिलो हुनुपर्छ ।’

नेपाली चलचित्रमा अहिले ‘महानायक’ देखि ‘महानायिका’ बिबाद उफानमा छ । चलचित्र कमसल बनिरहेका छन्, तर कलाकारलाई चाहिँ उपाधिमाथि उपाधि चाहिएको छ । यही प्रवृत्ति देखेपछि निर्देशक एवं चलचित्र समीक्षक दिपेन्द्र लामाले सामाजिक संजालमा लेखे, ‘हाललाई त्यस्तो नाक नै फुलाउनुपर्ने सिर्जनशील काम नेपालमा भएको छैन । त्यसैले नेपाली कलाकारलाई अवार्ड दिने काम बन्द गरौं । अवार्ड होइन, कलाकारलाई सीप, ज्ञान र व्यवहार परिस्कृत गर्ने प्रशिक्षण दिऔं । अहिले अवार्ड दिनु भनेको मन्द विष पिलाउनु हो ।’

के गर्दैछन् चलचित्रका तीन धार

Churifuri

नेपाली चलचित्रमा यतिबेला हास्यरसप्रधान ‘छक्कापञ्जा’ मार्का चलचित्रको डिमान्ड छ । दिपकराज गिरी र दिपाश्री निरौलाले ‘छक्कापन्जा–४’ को ट्रेलर सार्वजनिक गरिसकेका छन् । चलचित्र बन्नुअघि नै ट्रेलर सार्वजनिक गरेर यो ब्यानरले नेपाली चलचित्रको दबदबा नघटेको जनाउन खोजेको छ ।

अर्को धार छ, दयाहाङ राई, बुद्धी तामाङ, दिपेन्द्र के खनाल, विपिन अधिकारी, निश्चल बस्नेत आदिको । नेपाली मौलिकता र यथार्थबादी ढंगले चलचित्र बनाउन माहिर ‘लुट’ बाट उदाएको यो धारले अब फेरी कम्मर कस्नुपर्ने देखिन्छ ।

तेश्रो धार छ, अनमोल केसी, पल शाह र आर्यन सिग्देलहरुको, जसले चकलेटी हिरोका रुपमा फेरी तहल्का मच्चाउन सक्छन् । नेपालमा स्टारडमको विकास पूर्ण रुपमा हुन नसकेपनि नयाँ पुस्तामा यी अभिनेताहरुको क्रेज देखिन्छ ।

कोरोना महामारीका बेला म्युजिक भिडियोमै जमेका पल शाहले स्टारडमका अभाव पूर्ती गर्न सक्छन् । तर, चलचित्रबाट भन्दा म्युजिक भिडियोबाट कमाइरहेका शाहको लगाव चलचित्रतर्फ कति रहने छ, त्यो चाहिँ भविश्यले बताउला ।

दर्शकमाझ खुसीको खबर दिदै पल शाहले करण सिंहले बनाउन लागेको चलचित्रमा साइन गरेका छन् । ‘कथाको माग अनुसार पललाई अनुबन्ध गरेको’ निर्माताको कथन अनुसार नेपाली चलचित्रमा अभिनेता पल शाहको डिमान्ड र क्रेज उस्तै छ भन्ने स्पष्ट हुन्छ । यो चलचित्र यही माघबाट छायांकन हुनेछ ।

पल शाह अभिनित चलचित्र धमाधम बन्दैछन्. । मंसिर दोश्रो साताबाट ‘सत्यम्’ को छायाँकन हुँदैछ । यसपछि पलकै अर्को चलचित्र ‘हुतुतु’ बन्दैछ । र, पलकै चलचित्र ‘म यस्तो गीत गाउँछु–२’ माघ १९ मा प्रदर्शनमा आउँदैछ, जसको व्यग्र प्रतिक्षा गरिएको थियो । 

ताजा खबर