कैलालीका किसानलाई गहुँको बीउ वितरण

२०७८ मङ्सिर ४ शनिबार ११:५५:०० मा प्रकाशित

कैलाली । कैलालीस्थित कैलारी गाउँपालिकाले पालिकाभित्रका किसानलाई गहुँको बीउ वितरण गरेको छ । बेमौसमी बाढीले किसानको धानबालीमा ठूलो क्षति गरेपछि पालिकाभित्रका किसानलाई गहुँको बीउ वितरण गरेको हो ।

किसानको मागअनुसार गाउँपालिकाले बीउ खरिद गरेर वितरण गरिरहेको छ । कैलारीका किसानको मागअनुसार गाउँपालिकाले छ हजार २५० बोरा (दुई हजार ५०० क्वीन्टल) गहुँ खरिद गरेर वितरण गरेको जनाइएको छ । बेमौसमी बाढीले धानबालीमा ठूलो क्षति गरेपछि सो गाउँपालिकाका सर्वदलीय राजनीतिक संयन्त्रले खाद्य सुरक्षा कोष स्थापना गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयबमोजिम गाउँपालिकाले कोषमा बजेट विनियोजन गरेको थियो । कार्यपालिकाको निर्णयले सो कोषबाट दुई करोड झिकेर किसानको लागि गहुँको बीउ खरिद गेर किसानलाई वितरण गरेको कृषि शाखा प्रमुख दीपक खड्काले जानकारी दिए । गाउँपालिकाको कृषि शाखाका अनुसार बाढीले गरेको क्षतिअनुसार वडा/वडामा गहुँको बीउ वितरण गरिएको छ ।

कैलारी गाउँपालिकामा नौ हजार ४१८ परिवारको धानबाली बाढीले नष्ट गरेको थियो । गाउँपालिकाभरि छ हजार हेक्टर (१२ हजार बिघा) जमिनको धानबाली नष्ट भएको जनाइएको छ ।

गाउँपालिकामा सात हजार १२६ हेक्टर जमिनमा गहुँ खेती हुने गरेको कृषि शाखाले जानकारी दिएको छ । गाउँपालिकाले १० कट्ठासम्म जमिनमा धानबाली नोक्सान भएका परिवारलाई ४० केजी, १० कट्ठादेखि एक बिघा जमिनमा नोक्सान भएका परिवारलाई ८० केजी गहुँको बीउ दिने निर्णय गरेको थियो । एकदेखि दुई बिघा र दुई बिघाभन्दा बढी जमिनको बाली नोक्सान भएका किसानलाई क्रमशः १२० र २४० केजी गहुँको बीउ दिइने निर्णय गरेको थियो ।

रकम अभावका कारण निर्णय गरेअनुसार गहुँको बीउ वितरण गर्न नसकेको कैलारी–३ का वडाअध्यक्ष कैलाश चौधरीले बताए । उनका अनुसार गाउँपालिकाले वडाहरुमा पठाएको गहुँको बीउ गाउँका भलमन्सामार्फत वितरण भइरहेको छ । गाउँपालिकाले स्थानीयस्तरमै विभिन्न सहकारीले उत्पादन गरेको गहुँको बीउ र धनगढी, टीकापुरबाट खरिद गरेर किसानलाई वितरण गरेको जनाएको छ ।

ताजा खबर