सहिद स्मारक ए डिभिजनको उद्घाटन खेलमा युथ र फ्रेन्ड्स क्लब गोलरहित बराबरीमा 

२०७८ मङ्सिर ३ शुक्रबार २१:४५:०० मा प्रकाशित

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको उद्घाटन खेलमा नवप्रवेशी क्लब सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शुक्रaबार भएको खेलमा खेलको निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसक्दा खेल गोलरहित बराबरीमा टुङिगएको हो । यस बराबरी खेलसँगै सातदोबाटो र फ्रेन्ड्सले पहिलो खेलमा एक÷एक अङ्क बाँडेका छन् ।

खेलको पहिलो हाफको ११औँ मिनेटमा सातदोबाटोका कप्तान मानबहादुर तामाङले डिबक्समा दिएको पासलाई सुशील राईले पोष्टको दिशा दिन सकेनन् । त्यस्तै खेलको १९औँ मिनेटमा आकाश बुढामगरको फ्रिकिक पोष्ट माथिबाट बाहिरियो । खेलको दोस्रो हाफको सुरुआतमै सातदोबाटोका मार्टिन्स अजयीले सिक्स यार्ड बक्सबाट गोल गर्न सकेनन् ।

उनको हेड प्रहार बाहिरिएको थियो । त्यस्तै खेलको ५७औँ मिनेटमा सातदोबाटोका आकाशबुढा मगरको सशक्त प्रहार फ्रेन्ड्सका गोलकिपर राहुल रामचन्द्र यादवले पन्च गर्दै बाहिर पठाए । खेलको ५९औँ मिनेटमा फ्रेन्ड्सका नाथननिल गार्सियाको प्रहार पोस्ट बारमा लाग्दै फर्किएको थियो ।

सातदोबाटोका गोलकिपर अभिषेक बराल अघि बढेको मौकामा गार्सियाले प्रहार गरेका थिए । खेलको ६६औँ मिनेटमा फ्रेन्ड्सका गार्सियाको प्रहार सातदोबाटोका गोलकिपर अभिषेकले मुश्किलले बचाए । खेलको ७६औँ मिनेटमा फ्रेन्ड्स १० खेलाडीमा समेटियो । डिफेन्डर रोनिल एन्थोनी पाउलले दुई पहेलो कार्डसहित रातो कार्ड पाएपछि फ्रेन्ड्स १० खेलाडीमा सीमित भएको हो । खेलको इन्जुरी समयमा सातदोबाटोले गोलको सुनौलो मौका गुमायो ।

सुशील राईको प्रहार गोललाइन नजिकैबाट फ्रेन्ड्सका कप्तान सुरजले बचाए ।लिगको उपाधि विजेता टोलीले रु ७५ लाख तथा उपविजेताले रु ५० लाख प्राप्त गर्नेछन् । लिगअन्तर्गत भोलि दुई खेल हुनेछन् । पहिलो खेलमा हिमालयन शेर्पा क्लब र सङ्कटा क्लबबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा च्यासल युथ क्लब र थ्री स्टार क्लबबीच खेल हुनेछ ।
 

ताजा खबर