गंगोत्रीको गुफामा बनेको थियो त्यो सफलताको सूत्र 

२०७८ मङ्सिर ३ शुक्रबार १२:१७:०० मा प्रकाशित

काठमाडौं । योग गुरु बाबा रामदेवका अनन्य मित्र आचार्य बालकृष्ण यतिबेला काडमाडौंमा छन् । पतञ्जली योगपीठको विशेष कार्यक्रममा भाग लिन दुवै मित्र यहाँ आएका हुन् । पतञ्जलीले एउटा धार्मिक आध्यात्मिक टेलिभिजन च्यानल प्रारम्भ गर्नेभएको छ । यसका साथै ध्यानसाधना र प्रवचनहरु पनि आयोजना हुने पतञ्जली योगपीठ नेपालले जनाएको छ । रामदेव र बालकृष्ण पतञ्जली योगपीठ हरिद्वारका संस्थापक हुन् ।

 

को थिए बालकृष्ण भए के ?

 बालकृष्णका पिता जय वल्लभ अचेल नेपालको स्याङजास्थित एक गाउँमा किसानी जीवन बिताईरहेका छन् । उनका छोरा बालकृष्ण भने २५ हजार करोड भारुको मालिक भैसकेका छन् । उनी पतञ्जली ग्रुपका सिइओ हुन् ।

सन् १९९५ मा हरिद्वारमा दिव्य फार्मेशीका रुपमा सुरु भएको पतञ्जली ग्रुपको प्रमुखको हैसियतले बालकृष्ण फोब्र्स पत्रिकामा विश्वका धनीहरुको सूचीमा सामेल गरिएका थिए । उनको निजी सम्पदा २५ हजार करोड भारु आँकलन गरिएको छ । अहिले यो थप वृध्दि भएको छ ।

सन् १९७२ अगस्त ४ मा स्याङजामा जन्मिएका बालकृष्णकी आमाको नाम सुमीत्रादेवी र पिताको नाम जयबल्लभ हो । माता पिता नेपाली भए पनि बालकृष्णजी महाराजको बाल्यकाल र पढाई लेखाई भारतमा भयो । भारतको कलवा, हरियाणास्थित गुरुकूलमा आचार्यश्री बलदेवजीको सान्नीध्यमा रहेर उनले सांख्य योग, आयुर्वेद, संस्कृत भाषा, पाणीनी अष्टाध्यायी, बेद, उपनिषद् र भारतीय दर्शनको अध्ययन गरे । त्यसपछि सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय, बनारसबाट उनले संस्कृतमा आचार्य (पोस्ट ग्राजुयट) पास गरे । त्यसपछि नै हो, उनको नामका अगाडि ‘आचार्य’ जोडिएको । जव उनले आयुर्वेदीक औषधि र जडिबुटीहरुको खोज, अनुसन्धान र उपचारमा अपूर्व सफता हासिल गरे, त्यसपछि उनको नामका पछाडि थपियो, महाराज ।

तर, त्यसका लागि उनले धेरै मेहनत गर्नुपर्याे । गुरुकूलमा अध्ययन गर्दा नै उनको भेट भएको थियो, स्वामी रामदेवस“ग । बाबा रामदेव र बालकृष्णलगायतका केही साथीहरुले ऋषि संस्कृती र सनातन बैदीक परम्परालाई पालना गर्दै समाजका लागि मत र सम्प्रदायपन्थभन्दा माथि उठेर काम गर्ने अठोट गरे । धर्मका नाममा जुन अन्धविश्वास, पाखण्ड र रुढीवादिता छ, त्यसलाई त्यागेर धर्मको वास्तविक र वैज्ञानिक स्वरुपलाई अगाडि बढाउने लक्ष्यका साथ सन् १९९२ मा उनीहरु हिमालयको भ्रमणमा गए ।

गंगोत्री र अन्य हिमालका गुफाहरुमा रहेर स्वामी रामदेव र आचार्य बालकृष्णले दुईवटा काम गरे । स्वामी रामदेवले आधुनिक समाजमा योगको व्यवहारिक प्रयोगहरुबारे अभ्यास र साधना गरे । रामदेवले यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधीको पतञ्जलि योग सूत्रलाई व्यस्त समाजमा उपयोगी बनाउने तौरतरिका तयार गरे ।

उता, आचार्य बालकृष्णले भने दुर्लभ जडिबुटीहरुको खोजी गरे । त्यसक्रममा उनले आयुर्वेदीक टनीक च्यवनप्रासका लागि आवश्यक दुर्लभ जडिबुटी ‘अष्टावर्ग’ पत्ता लगाए । उनले किंवदन्तीमा वर्णन गरिएकै रुपमा संजीवनी बुटीको पनि खोज र आविष्कार गरे र सिंगो भारतभर चर्चामा आए । यसको प्रेरणा उनले आमाबाटै पाएका हुन् । उनकी आमालाई जडिबुटीमा ठूलो लगाव थियो । बालकृष्ण विरामी भएमा आमाले जडिबुटीबाटै छोराको उपचार गर्थिन् ।

१९९३ मा उनीहरु हरिद्वार फर्किए र योग र आयुर्वेदको क्षेत्रमा समाजसेवा गर्ने ट्रष्ट स्थापनाको काम थाले । सन् १९९५ मा पतञ्जली योगपीठको स्थापना भयो । प्रारम्भमा स्वामी रामदेव र  उनीलगायत चार पा“च जना थिए । ट्रष्टको रजिस्ट्रेशनका लागि चाहिने पैसासमेत ऋण खोजेर तिरेका थिए । लगातार सेवा गर्दै जा“दा संशाधन बढ्यो । अनी सेवा पनि बढाए ।

गंगोत्री गुफामा रह“दा रामदेवले विश्वभर योग र आयुर्वेद चिकित्साको नया“ लहर सिर्जना गर्ने जुन परिकल्पना गरेका थिए, त्यसको प्रमुख आर्किटेक्ट बने, बालकृष्ण । त्यसैले त अहिले बालकृष्ण आधुनिक चिकित्सा विज्ञानलाई पनि माथ गर्र्दै आयुर्वेदीक औषधि र उपचार पध्दतिको विकासमा जुटेका छन् र धेरै हदसम्म सफलता पनि पाईसकेका छन् । अहिले पतञ्जली योग पीठको चिकित्सा विज्ञान, योग र आयुर्वेद विभागमा ७० फिजीसियनको टोलीले उनलाई सघाईरहेको छ । उनकै निर्देशनमा भारतभरी दुइ हजारभन्दा बढी बैद्य कार्यरत छन् ।

अहिले उनकै नेतृत्वमा दिव्य फार्मेसी र पतञ्जली आयुर्वेद लिमिटेडमार्फत विश्वभर आयुर्वेदीक औषधिको निर्माण र विक्री वितरण भईरहेको छ । बालकृष्णकै परिकल्पना अनुरुप निर्मित पतञ्जली जडिबुटी उद्यानमा (पतञ्जली हर्बल पार्क) मा अहिले करीव ४ सय ५० जडिबुटीका वृक्ष छन् । पतञ्जली योगपीठले संचालन गरिरहेको ‘भारत स्वाभिमान अभियान’ अन्तरगत स्वदेशी दन्त मंजन, पेष्ट, कपालमा लगाउने तेल, साबुन, स्याम्पो, ब्युटी क्रिमको समेत उत्पादन, विक्री वितरणसमेत भईरहेको छ । यी सबै अभियानमा बालकृष्ण व्यवस्थापक, प्रशासक, इन्जिनियर, चिकित्सक, अनुसन्धानदाता र प्रशिक्षककोसमेत भूमिका निर्वाह गरिरहेका छन । त्यति मात्र हैन, उनले ‘योग र चिकित्सा विज्ञान’, ‘औषध दर्शन’, ‘आयुर्वेद, सिध्दान्त र दर्शन’, ‘सेक्रेटस अफ इन्डियन हर्बस’, ‘योग दर्शन, सन्त दर्शन र भक्ती गीताञ्जली’ जस्ता पुस्तक पनि रचेका छन् ।

पतञ्जली योग पीठ अन्तर्गत अहिले भारतमा धेरै संस्था छन् । दिव्य योग मण्डल ट्रष्ट, भारत स्वाभीमान ट्रष्टलगायत सक्रिय छन् । पतञ्जली योग पीठ अन्तर्गत मरीसस, अमेरिका, युके, क्यानडालगायतका देशमा पनि विभिन्न संस्थाहरु काम गरिरहेका छन् । भारतमा एक हजारभन्दा बढी सेवा केन्द्र छन् भने हरिद्वारस्थित मुख्य केन्द्रमै चार पा“च हजार मानिस काम गर्छन् । सिंगो भारतमा अढाई लाख शिक्षक, एक लाखभन्दा बढी योग प्रशिक्षणशाला चल्छन् ।

कुनैबेला साइकल र स्कुटरमा घुम्ने बालकृष्ण महाराज अचेल ३५ लाख भारु पर्ने रेन्जरोवर कार चढ्छन् । लुँगी र कुर्ता लगाए पनि उनी वर्षेनी १० हजार करोड भारुको कारोबार गर्छन् । तर उनी कुनै तलब लिँदैनन् । किनकी पतञ्जलीको ९७ प्रतिशत हिस्सा उनकै नाममा छ ।

अहिले पतञ्जलीले मल्टी नेशनल कम्पनीहरुलाई माथ गर्ने उदेश्य राखेर साबुनदेखि टुथपेष्ट, बडी लोसनदेखि क्रिम, विस्कृटदेखि चकलेट र चाउचाउदेखि पिठोसम्म उत्पादन गर्न थालेको छ । ३० वर्ष पहिले भेट भएका बाबा रामदेवसँग भेट भए यता बालकृष्ण महाराजको जीवन जडिबुटीमै व्यस्त छ । 


 

ताजा खबर