नेपाल घोडचढी सङ्घलाई अन्तर्राष्ट्रिय मान्यता

२०७८ मङ्सिर २ बिहीबार १४:१४:०० मा प्रकाशित

काठमाडौं । नेपाल घोडचढी सङ्घले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छ । अन्तर्राष्ट्रिय घोडचढी महासङ्घको बेल्जियमको अन्टर्पमा बसेको विशेष साधारणसभाले नेपाललाई मान्यता दिने निर्णय गरेको हो । कात्तिक २८ देखि मङ्सिर १ गतेसम्म बेल्जियममा बसेको बैठकले नेपाललाई मान्यता दिने निर्णय गरेको नेपाल घोडचढी सङ्घका अध्यक्ष रवी राजकर्णिकारले जानकारी दिए ।

नेपाललाई अन्तर्राष्ट्रिय मान्यता दिने महासङ्घको निर्णयप्रति उनले खुसी व्यक्त गरे । अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्न सङ्घले ६ वर्षदेखि संघर्ष गर्दै आएको थियो । नेपाललाई अन्तर्राष्ट्रिय मान्यता दिने सम्बन्धमा गत महिना सङ्घका पदाधिकारीले नेपालको भ्रमण गरेका थिए ।

उनीहरूले नेपालमा घोडचडीको सम्भावना र विकासको अवस्थाबारे जानकारी लिएका थिए । टोलीले रक्षा मन्त्री डा मिनेन्द्र रिजाल, युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज, नेपाल ओलम्पिक कमिटीका पदाधिकारी, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पदाधिकारीलगायतसँग भेटघाट गरेको सङ्घले जनाएको छ ।

ताजा खबर