क्यानडाको ब्रिटिश कोलम्बिया क्षेत्रमा सङ्कटकाल घोषणा

२०७८ मङ्सिर २ बिहीबार ०८:११:०० मा प्रकाशित

तुफानका कारण सडक र रेल सञ्जालमा अवरोध उत्पन्न भएपछि क्यानडाको पश्चिमी प्रान्त ब्रिटिश कोलम्बियामा सङ्कटकाल घोषणा गरिएको छ । विपद्बाट प्रभावित त्यस क्षेत्रका बासिन्दाको सहायताका लागि सुरक्षाकर्मी खटिएका छन् ।

उक्त क्षेत्रमा आइतबार राति ठूलो तुफान आएको थियो। त्यसबाट हजारौँ मानिसहरू प्रभावित भएका छन् । प्रधानमन्त्री जस्टिन ट्रुडोले राहत दिने प्रतिबद्धता जनाएका छन् । उनले सेनाले पुनर्निर्माणका लागि सहयोग गर्ने बताए ।

पहिरोमा परी एक महिलाको मृत्यु भएको छ भने दुई जना हराइरहेका छन् । उक्त क्षेत्रबाट कैयौँ मानिसहरूलाई सुरक्षित स्थलमा सारिएको छ । जसका कारण केही पहाडी क्षेत्रका सहरहरूसँग सम्पर्क टुटेको छ ।

त्यस्तै क्यानडाको सबैभन्दा ठूलो बन्दरगाह भ्यानकुभरसम्म पुग्ने बाटो पनि अवरुद्ध भएको छ । त्यहाँ एउटा वायुमण्डलीय तुफान उत्पन्न भएको थियो । त्यस्तो अवस्थामा उष्ण तटीय क्षेत्रबाट हावा चिसिन लागेको बाफ बोकेर ध्रुवीय क्षेत्रतर्फ बहन्छ ।

त्यस अवस्था उत्पन्न हुँदा त्यस क्षेत्रमा एक महिनामा पर्ने औसत पानी चौबिस घण्टाभित्रै परेको थियो । अधिकारीहरूले त्यस्तो अवस्था उत्पन्न हुनुमा जलवायु परिवर्तन कारक रहेको हुनसक्ने बताएका छन्।

ताजा खबर