६५ हजार नक्कली नोटसहित काठमाडौंबाट पाँच जना पक्राउ

२०७८ मङ्सिर १ बुधबार २२:०८:०० मा प्रकाशित

काठमाडौं । प्रहरीले ६५ हजार तीन सय ३५ रुपैयाँ नक्कली नोटसहित काठमाडौंबाट पाँच जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले मंगलबार बेलुका गोकर्णेश्वर नगरपालिका–७ बाट पाँच जनालाई नक्कली नोटसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका वडा नम्बर ८ घर भई हाल गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ नारायणटार बस्ने ५६ वर्षीया गोमा श्रेष्ठ, ४१ वर्षीया पुष्पा थापामगर, रामेछाप शिरुवारी गाउँपालिका वडा नम्बर २ घर भई हाल बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ११ कपन बस्ने २६ वर्षीय समरोज थापामगर, सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–२ घर भई हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१० मिलनचोक बस्ने १९ वर्षीय चिरन्जीवी जोती र सोही ठाउँका २३ वर्षीय सुजन जोती रहेका छन् ।

दक्षिणढोकामा केही मानिसहरूले नक्कली नोटको कारोबार गरिरहेको सूचनाका आधारमा प्रहरी टोली त्यहाँ पुगेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनीहरुको साथबाट प्रहरीले ५००, १००० दरका नोट बनाउनको लागि प्रिन्ट गरी पैसाको आकारमा काटेर राखेको अवस्थामा नोटहरू बारामद भएको परिसरले जनाएको छ।

ताजा खबर