खुले पशुपति क्षेत्रका टिकट काउन्टर, दैनिक एक सय पर्यटक आगमन

२०७८ मङ्सिर १ बुधबार १६:१०:०० मा प्रकाशित

काठमाडौं । कोरोना महामारीका कारण डेढवर्षदेखि बन्द रहेको पशुपति क्षेत्रका पर्यटकीय टिकट काउन्टर खुलेका छन् । नेपालमा कोरोना महामारी सुरु भएपछि विसं २०७६ चैतदेखि बन्द रहेको काउन्टर तिहार अघिदेखि स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

पशुपति क्षेत्रमा प्रवेश गरी घुम्न चाहने भारत बाहेकका विदेशी पर्यटकका लागि तीन स्थानमा काउन्टरको व्यवस्था गरिएको छ । तिलगङ्गा, वत्सलेश्वरी र गु्ह्येश्वरीमा काउन्टर राखी विदेशी पर्यटकलाई टिकट काटेर प्रवेश गराइन्छ । पशुपति क्षेत्रमा हाल तीन वटै काउन्टरबाट गरी दैनिक १०० पर्यटक प्रवेश गर्ने गरेको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए ।

कोरोना महामारी सुरु हुनुअघि दैनिक ३०० पर्यटक टिकट काटेर पशुपति क्षेत्र घुम्ने गरेका थिए । पशुपति क्षेत्र प्रवेश गर्दा भारत बाहेकका विदेशी नागरिकसँग एक हजार शुल्क लिइन्छ । कोरोनापछि पशुपतिनाथ मूलमन्दिर पुरानै स्वरुपमा खुला गरिसकिएको कोषले जनाएको छ ।

पशुपतिनाथ दर्शन एवं विशेष पूजा गर्न चाहने भक्तजनका लागि बिहानदेखि नै मन्दिर खुला गरिएको कार्यकारी निर्देशक खतिवडाले बताए । पशुपति क्षेत्रमा हुने गरेका सबै धार्मिक, सांस्कृतिक गतिविधि कोरोनाअघिकै स्वरुपमा भइरहेको उनले जानकारी दिए ।
 

ताजा खबर