करको दायरा र निर्यातमुखी राजस्व बढाउन वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह

२०७८ मङ्सिर १ बुधबार १५:४२:०० मा प्रकाशित

झापा । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले करको दायरालाई अहिलेको तुलनामा अझ धेरै फराकिलो बनाएर कसरी बढीभन्दा बढी मानिसमा पुर्याउन सकिन्छ भन्ने बारेमा लाग्नुपर्ने बताएका छन् ।

दसौँ राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व कार्यालय विर्तामोड तथा विर्तामोड उद्योग वाणिज्य सङ्घद्वारा बुधबार दमकमा आयोजित कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ढकालले करको दायरालाई धेरै नागरिकसम्म पुर्याउने र निर्यातमुखी राजस्व प्रणालीको विकासका लागि सोच्नुपर्ने बताएका हुन् ।

उनले अहिले आयातबाट ४८ प्रतिशत राजस्व रहेको तथ्याङ्क देखिएको भन्दै यसरी आयातमा आधारित राजस्वको हिस्सालाई क्रमशः कम गर्दै लैजानुपर्ने बताए । उनले भने, “यो आयातमा आधारित राजस्व प्रणालीलाई क्रमशः कम गर्दैै लगी निर्यातमुखी राजस्व प्रणालीको विकासमा अर्थतन्त्रको पुनर्संरचना गर्नुपर्छ ।”

उनले आन्तरिक उत्पादनमा वृद्धि र स्वदेशी उद्योगको स्थापना गर्दै आयकर, मूल्य अभिवृद्धिकर लगायतको हिस्सा बढाउनुपर्ने सुझाव दिए । कर प्रशासनलाई सेवाग्राहीमैत्री बनाई करको दायरा बढाउन सकिने उल्लेख गर्दै उनले कर प्रशासनले ल्याउने कार्यक्रममा निजी क्षेत्रले सधैँ साथ र सहयोग पुर्याइरहेको बताए ।

आफूले पनि करदाताका रुपमा पटकपटक सम्मान पाएको स्मरण गर्दै उनले भने, “करदातालाई सम्मानित गर्ने कार्यक्रमले आन्तरिक प्रतिस्पर्धा बढाउनेछ र अर्को वर्ष थप कर तिर्ने तथा राज्यलाई योगदान दिने वातावरण सिर्जना हुनेछ ।”

उत्कृष्ट करदातालाई गरिने सम्मानले निजी क्षेत्रबीच स्वस्थ प्रतिस्पर्धा तथा कर बुझाउन उत्प्रेरणा बढ्ने उनको धारणा थियो । राज्यको प्रमुख आम्दानीको स्रोत राजस्व भएको उल्लेख गर्दै उनले निजी क्षेत्रले आफू पीडामा रहेको र कानुनी बाध्यता नभएको अवस्थामा पनि राज्यका गतिविधि रोकिनु हुँदैन भनेर कर बुझाउने गरेको स्मरण गरे ।

गत वर्ष सर्वोच्च अदालतले ‘कोभिडका कारण भएको लकडाउनका बेला कर असुल नगर्नू र लकडाउन खुलेपछि मात्र कर तिर्ने व्यवस्था मिलाउनू’ भन्ने आदेश दिए पनि आफूहरुले कर तिरेको र कर तिरौँ भनेर सार्वजनिक आह्वान नै गरेको उनको भनाइ छ ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ढकालल, आन्तरिक राजस्व कार्यालय झापाका प्रमुख शुभ रिजाललगायतद्वारा उत्कृष्ट करदाताहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा साहेबवाला ट्रेडिङ प्रालि भद्रपुरका अजय साहेबवाला, फिक्कल उत्तम स्टोरका कुमार श्रेष्ठ, पाँचथरका जय अम्बे ट्रेर्डस एन्ड सप्लायर्सका राजन काफ्ले र सलिना सप्लायर्सका तिलमाया भट्टराई रहेका छन् । त्यसैगरी सो अवसरमा उत्कृष्ट कर्मचारीको रुपमा टीकादत्त दाहाललाई सम्मान गरिएको छ ।

ताजा खबर