‘ए’ डिजिभन लिग फुटबललाई कतार एयरवेजले प्रायोजन गर्ने

२०७८ मङ्सिर १ बुधबार १४:३९:०० मा प्रकाशित

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फाले) यस सिजनको शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको लागि कतार एयरवेजसँग प्रायोजन सम्झौता नवीकरण गरेको छ । एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार एयरवेजका कन्ट्री म्यानेजर मोहम्मद इल इमानले बुधबार सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार  कतार एयरवेज थप एक वर्षका लागि लिगको प्रायोजन गर्ने भएको छ । कतार एयरवेजले अघिल्लो संस्करणको  लिगमासमेत मुख्य प्रायोजकको रुपमा प्रायोजन गरेको थियो । यही मङ्सिर ३ गतेदेखि आयोजना हुने ‘ए’ डिभिजन लिगमा विभिन्न १४ टोली सहभागी छन् ।

यसमा त्रिभुवन आर्मी फुटबल क्लब, एपिएफ फुटबल क्लब, मछिन्द्र फुटबल क्लब, सङ्कटा फुटबल क्लब, नेपाल पुलिस फुटबल क्लब र हिमालयन शेर्पा फुटबल क्लब छन् ।  त्यसैगरी सातदोबाटो फुटबल क्लब, मनाङ मस्र्याङदी फुटबल क्लब, थ्रि स्टार फुटबल क्लब, एनआरटी फुटबल क्लब, फ्रेण्ड्स फुटबल क्लब, च्यासल युथ क्लब, जावलाखेल युथ क्लब र बिग्रेड ब्वाइज फुटबल क्लब छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेण्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । उक्त प्रतियोगिताको खेलको लागि साधारणतर्फ टिकट दर  एक सय र भीआइपीतर्फ  पाँच सय रुपैयाँ मूल्य निर्धारण गरिएको छ । यसपटक अन्तिम स्थानमा रहने दुई टोली रेलिगेसनमा पर्नेछन् । लिग बिजेता टोलीले ७५ लाख तथा उपविजेताले ५० लाख पाउनेछन् ।
 

ताजा खबर