नेदरल्यान्डस विश्वकपका लागि छनोट

२०७८ मङ्सिर १ बुधबार १०:४८:०० मा प्रकाशित

नेदरल्यान्डस नर्वेमाथि २–० गोलको जित हात पार्दै सन् २०२२ को कतार विश्वकपका लागि छनोट भएको छ । घरेलु मैदानमा नेदरल्यान्डस पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो । उसले दुवै गोल खेल सकिन ६ मिनेट बाँकी हुँदा गरेको हो । ८४ औं मिनेटमा स्टिभन बोर्खविनले गोल गर्दै डेडलक तोडेका थिए । इन्जुरी समयमा माम्फिस डिपायेले गोल गरेपछि डच टोलीले समूह जी को शीर्ष स्थानमा रहँदै विश्वकप यात्रा तय गरेको हो । सन् २०१४ को ब्राजिल विश्वकपमा तेस्रो भएको नेदरल्यान्डस २०१८ को रुस विश्वकपमा छनोट हुन सकेको थिए । हार पछि नर्वे प्ले अफ पुग्न पनि असफल भयो । छनोटको सुरुवातमै अर्लिङ हालान्ड चोटग्रस्त हुनु उसका लागि मंहगो सावित भयो ।  नर्वेले पछिल्लो पटक  १९९८ मा विश्वकप खेलेको थियो । फ्रान्ससँग दुई शून्य गोलले पराजित भएपछि फिनल्यान्ड प्ले अफ पुग्नबाट बञ्चित भयो । प्ले अफमा स्थान बनाएको वेल्सले बेल्जियमलाई एक एक गोलको बराबरीमा रोक्यो ।

अहिलेसम्म कतार विश्वकपमा स्थान बनाएका टिम 

नेदरल्यान्डसको जितसँगै युरोपबाट सिधै छनोट हुने दश टिमको टुंगो लागेको छ । समूह ए बाट क्रिस्टियानो रोनाल्डोको टोली पोर्चुगललाई स्तब्ध पार्दै सर्वियाले विश्वकपमा स्थान सुरक्षित गर्यो । समुह बी बाट स्पेन र समुह सी बाट स्विजरल्यान्डले कतार यात्रा तय गरे । यही समूहमा रहेको इटालीले भने सिधै छनोट हुने सुनौलो अवसर गुमायो । साविक विजेता फ्रान्स समुह डी को शीर्ष स्थानमा रहँदै कतार विश्वकपमा पुग्न सफल भयो । समूह इ मा रहेको बेयल्जियमले शीर्ष स्थानमा रहँदै विश्वकपमा स्थान सुरक्षित गर्दा डेनमार्क,  क्रोएशिया,  इङल्यान्ड र जर्मनी पनि आ आफ्नो समुहको शीर्ष स्थानमा रहेर विश्वकप पुगे । युरोपकपबाट कुल १३ टिमले विश्वकपमा भाग लिनेछन् । तीन टोली प्ले अफबाट आउनेछन् ।

प्ले अफ खेल्ने टोली
तीन स्थानका लागि १३ टिम बीच प्रतिस्पर्धा हुनेछ । प्ले अफमा दुइ हेभीवेट पोर्चुगल र इटाली पनि छन् । अन्य देशमा स्क्टल्यान्ड, रुस, स्विडेन, वेल्स, टर्की, पोल्यान्ड, नर्थ मेसिडोनिया, युक्रेन, अस्ट्रिया र चेक रिपब्लिक छन् । प्ले अफको ड्र २६ नोभेम्बरमा हुनेछ । दक्षिण अमेरिकी क्षेत्रबाट अहिलेसम्म ब्राजिल मात्र छनोट भएको छ । यस क्षेत्रबाट छनोटमा दश टोली सहभागी  छन् । यी मध्ये चार टोली सिधै विश्वकपमा लागि छनोट हुनेछन् । पांचौ हुने टोलीले प्ले अफमा भाग लिनेछ । तालिकामा अहिले अर्जेन्टिना दोस्रो, इक्वेडर तेस्रो र कोलम्बिया चौथो स्थानमा छ ।  पाँचौ स्थानमा पेरु छ । उत्तरी अमेरिकी क्षेत्रबाट तीन देश सिधै विश्वकपका लागि छनोट हुनेछन् । अहिले अंक तालिकामा अमेरिका पहिलो, मेक्सिको दोस्रो र क्यानडा तेस्रो स्थानमा छ ।  एशियाली क्षेत्रको पनि छनोट खेलहरु संचालन भइरहेका छन् । कतार  आयोजकका रुपमा छनोट भइसकेको छ ।  अफ्रिकी क्षेत्रबाट विश्वकपमा छनोट हुने टोलीको पनि टुंगो हुन बाँकी नै छ ।  
 

ताजा खबर