चाडपर्वमा समेत घट्यो विप्रेषण

२०७८ कार्तिक ३० मंगलबार २०:४४:०० मा प्रकाशित

काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा विप्रेषण आयात ७.६ प्रतिशतले कमी आएको छ । श्रम गन्तव्य मुलुकमा कोरोनाको कहर सामान्य बन्दै गए पनि विप्रेषण आप्रवाह भने ओरालो लागेको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्षको तीन महिनासम्ममा दुई खर्ब ३९ अर्ब ३२ करोड बराबर मात्रै विप्रेषण आएको छ ।दसैं, तिहारजस्ता चाडपर्वमा सामान्यतया विप्रेषण आप्रवाह बढ्ने गरेको पाइए पनि यस पटक भने घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १२.७ प्रतिशतले बढेको थियो ।

सो अवधिमा दुई खर्ब ५८ अर्ब ८६ करोड बराबरको विप्रेषण भित्रिएको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.७ प्रतिशतले कमी आई दुई अर्ब दुई करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.६ प्रतिशतले बढेको थियो ।

सो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या उल्लेख्यरूपमा वृद्धि भई ६६ हजार ३१६ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ९६.८ प्रतिशतले घटेको थियो ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनःश्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा उल्लेख्यरूपमा वृद्धि भई ३४ हजार ८२३ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ७८.६ प्रतिशतले घटेको थियो ।

सो अवधिमा खुद ट्रान्सफर ८.१ प्रतिशतले कमी आई रु दुई खर्ब ६३ अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १०.२ प्रतिशतले बढेको थियो ।

ताजा खबर