विद्युतीय चुल्हो र विद्युतीय बस सञ्चालनका लागि सरकारले प्रोत्साहन गर्छः प्रधानमन्त्री

२०७८ कार्तिक ३० मंगलबार १३:५८:०० मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विद्युत खपत बढाउन सरकार सारा सहुलियत दिन तयार रहेको बताएका छन् । मंगलबार स्वतन्त्र ऊर्जा उत्पादक संस्था (ईपान)को १९ र २० औँ साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले देशभर विद्युतीय सामग्रीहरुको प्रयोग गरी देशलाई नमुना बनाउनुपर्ने बताएका छन् ।

उनले विद्युतीय चुल्हो र विद्युतीय बस सञ्चालनका लागि सरकारले प्रोत्साहन गर्ने बताए । प्रधानमन्त्री देउवाले ऊर्जा उत्पादकहरुले खल्तीमा लाइसेन्स लिएर काम नगर्ने गरेको भन्दै त्यस्तो काम नगर्न आग्रह गरे । प्रधानमन्त्रीले भने,‘काठमाडौंमा कमसेकम व्याट्रीबाट गाडीहरु सञ्चालन गरौँ । घरमा खाना पकाउने इलेक्ट्रिक चुल्हो प्रयोग गरौं । भोलि तराइ, मधेश सबै ठाउँमा इलेक्ट्रिक बस चलाउन सक्यौँ भने नेपाल नमुना बन्न सक्दछ । उद्योगपतिहरुलाई के भन्न चाहन्छु भने, तपाईँहरु सुरु गर्नुस् । सरकारले इन्सेन्टिभ दिन्छ ।’

साधारणसभामा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले निजी क्षेत्रको माग बमोजिम निजी क्षेत्रलाई पनि विद्युत व्यापारको अनुमति दिन सरकार तयार रहेको बताइन् ।

निजी क्षेत्रलाई विद्युत व्यापार गर्नसक्ने विश्वासिलो आधारसहित आउन उनले आग्रह गरिन् । नेपालमा विद्युत उत्पादनको तुलनामा विद्युतको माग र खपत बढ्न नसकेका कारण उत्पादित विद्युत खेर गइरहेको र विद्युत खेर जाँदा निजी क्षेत्र, लगानी गर्ने बैंक र राज्यले नै क्षति बेहोर्नुपरेको उनको भनाई छ ।

साभार : drishyatv.com

ताजा खबर