दोहा विमानस्थलमा निर्वस्त्र जाँच गरिएका अस्ट्रेलियाली महिलाले कतारमाथि मुद्दा दायर गर्ने

२०७८ कार्तिक ३० मंगलबार ०९:३५:०० मा प्रकाशित

दोहा विमानस्थलमा जाँचका लागि विमानबाट ओरालेर वस्त्र फुकाल्न लगाएर सुत्केरी हो कि भनी परीक्षण गरिएका अस्ट्रेलियाली महिलाहरूले कतारमाथि मुद्दा दायर गर्ने भएका छन् । हमाद विमानस्थलमा एउटा भर्खरै जन्मिएको शिशु भेटिएपछि ती महिलालाई सन् २०२० को अक्टोबरमा एउटा उडानबाट ओरालेर उनीहरूले हालसालै बच्चा जन्माएको छ कि भनी परीक्षण गरिएको थियो ।

उनीहरूले आफ्नो अनुभवलाई राज्य स्वीकृत आक्रमण भनेका थिए र त्यसको सर्वत्र विरोध भएको थियो । कतारले पछि माफी माग्दै विमानस्थलका एक अधिकारीलाई जेल सजाय दिएको थियो ।

तर ती महिलाहरूले त्यसपछि त्यो घटनालाई बेवास्ता गरिएको बताएका छन् । उनीहरूलाई सशस्त्र सुरक्षाकर्मीले कतार एयरको विमानबाट ओरालेर एम्बुलेन्समा हालेका थिए। एम्बुलेन्समा नर्सहरूले उनीहरूलाई वस्त्र फुकाल्न लगाएर निरीक्षण गरेका थिए । महिलाहरूले आफूहरूले त्यसो गर्न स्वीकृति नदिएको र किन त्यसो गरिँदै छ भनेर आफूलाई नभनिएको बताएका छन् ।

पाँच मिनेट जतिको परीक्षणपछि ती महिलाहरूलाई पुनः विमानमा चढाइएको थियो । अस्ट्रेलियामा अवतरण गरेपछि केही महिलाले यसबारे प्रहरीलाई उजुरी दिएका थिए जसको कारण घटनाको थुप्रै राष्ट्रले निन्दा गरेका थिए । त्यस बेला कतारमा प्रधानमन्त्री खालिद बिन खालिफा बिन अब्दुलअजिज अल थानीले ट्वीट गर्दै माफ मागेका थिए ।

ती महिलाहरूले कतार सरकार, कतारको नागरिक उड्डयन प्राधिकरण र कतार एयरवेजसँग आक्रमण, अनधिकृत घुसपैठ र झूटो जेल सजायको क्षतिपूर्ति समेत मागेका छन् । सो घटनाका कारण मानसिक समस्या भोगिरहेकी एक महिलाले कतारी सरकारले केही नगरेका कारण आफूहरू मुद्दामा जान लागेको बताइन् ।
 

ताजा खबर