अस्ट्रेलियालाई पहिलोपटक टी–ट्वान्टी विश्वकपको उपाधि

२०७८ कार्तिक २८ आइतबार २३:४४:०० मा प्रकाशित

काठमाडौं । टी–२० विश्वकको उपाधि अस्ट्रेलियाले जितेको छ । अष्ट्रेलियाले न्युजिल्याण्डलाई आठ विकेटले हराउँदै पहिलो पटक टी–२० विश्वकपको उपाधि जितेको हो । आइतबार दुबई अन्तर्राष्ट्रिय रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर एक सय ७२ रनको योगफल खडा गरेको थियो ।

कप्तान केन विलियमसनले सानदार अर्थशतकीय पारी खेलेपछि न्युजिल्यान्डले बलियो लक्ष्य दिएको थियो । तेस्रो नम्बरमा ब्याटिङमा आएका उनले ४८ बलमा ८५ रनको योगदान गरे । ओपनरहरु ड्यारेल मिचेल (११) र मार्टिन गुप्टिल(२८)ले पहिलो विकेटका लागि २८ रनको साझेदारी गरेका थिए । त्यसपछि आएका विलियमसनले तेस्रो विकेटका लागि ग्लेन फिलिप्ससँग मिलेर ६८ रनको साझेदारी गरेका थिए । फिलिप्सले १८ रनको योगदान गरे ।

जेम्स निसम र टिम सेइफर्ट अन्तिमसम्म टिक्दै टिमको स्कोर १७२ रन पुर्याए । निसम १३ रनमा नटआउट रहँदा सेइफर्ट ८ रनमा नटआउट रहे । अस्ट्रेलियाका जोस हेजलवुडले ३ विकेट लिँदा एडम जाम्पाले एक विकेट लिए । जवाफमा अष्ट्रेलियाले १८ ओभर पाँच बलमा दुई विकेट गुमाउँदै लक्ष्य पुरा गर्याे । सुरुवात राम्रो गर्न नसकेको उसले १५ रनमा पहिलो विकेट गुमायो ।

उसका आरोन फिन्च मात्र पाँच रनमा आउट भए । तर दोस्रो विकेटका लागि डेविड वार्नर र मिचेल मार्सले उत्कृष्ट ९२ रनको साझेदारी गरे । जसमा वार्नरले २८ बलमा चार चौका र तीन छक्काको मद्दतले ५३ रन बनाए ।

उनी यो टी २० विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा दोस्रो स्थानमा रहे । उनले कुल दुई सय ८९ रन बनाए । यो पटकको विश्वकपमा धेरै रन बनाउने खेलाडी पाकिस्तानका बाबर आजम बने ।

उनले तीन सय तीन रन बनाए । वार्नर आउट भएपनि अष्ट्रेलियाका लागि मिचेल मार्स र ग्लेन म्याक्सवेलले सहज जित दिलाए । अष्ट्रेलियाका लागि मिचेल मार्सले अविजित ७७ रन बनाए । जसमा उनले ५० बलमा छ चौका र चार छक्का प्रहार गरे । यस्तै ग्लेन म्याक्सवेलले २८ रन जोडे । बलिङमा ट्रेन्ट बोल्टले दुई विकेट लिए ।

अष्ट्रेलियाले टी २० विश्वकपको उपाधि पहिलो पटक हात पारेको हो । यसअघि सन् २०१० मा फाइनलमा पुगेपनि इंग्ल्याण्डसँग सात विकेटले पराजित भएको थियो । यता पहिलो पटक फाइनलमा पुगेको न्युजिल्याण्डको उपाधि जित्ने सपना फेरि अधुरो बनेको छ । यसअघि ५० ओभरको विश्वकपको फाइनलमा न्युजिल्याण्ड लगातार दुईपटक पराजित भएको थियो । सन् २०१५ मा अस्ट्रेलिया र सन् २०१९ मा इंग्ल्याण्डसँग हारको सामना गर्नुपरेको थियो ।

ताजा खबर