सुरक्षा कारबाहीमा भारतको महाराष्ट्रमा २६ नक्साल विद्रोही मारिए

२०७८ कार्तिक २८ आइतबार १३:५५:०० मा प्रकाशित

भारतीय प्रहरीको कारबाहीमा भारतको महाराष्ट्रमा कम्तीमा पनि २६ जना नक्सलाइट विद्रोही मारिएका छन् । महाराष्ट्रको गदचिरोली जिल्लामा भारतीय सुरक्षाकर्मीसँग नक्सलाइटको भिडन्त भएको थियो । भिडन्तमा परेर कम्तीमा पनि २६ जना नक्सलाइटहरुको ज्यान गएको बताइएको छ । प्रहरीका अनुसार यसक्रममा अरु केही प्रहरी घाइते भएका बताइएको छ ।

महाराष्ट्र प्रहरीका अनुसार उक्त जिल्लाको मार्दिनतोला जङ्गलमा भिडन्त भएको थियो । भिडन्तका क्रममा मारिएका २६ नक्सालको शव प्रहरीले फेला पारेको जनाएको छ ।कतिपय विद्रोहीहरु भागेका र अरु केही घाइते भएका छन् । सो जङ्गलमा उनीहरु लुकेर बसेका सूचनाका आधारमा प्रहरी त्यहाँ पुगेको बताइएको छ । उक्त जङ्गलमा प्रहरीले केही अघिदेखि खोजी अभियान सञ्चालन गरिरहेको छ ।

त्यसक्रममा केही हप्ताअघि पनि प्रहरी र नक्सालहरुबीच भिडन्त भएको थियो ।उक्त जङ्गलमा प्रहरी टोली पुगेपछि नक्सालहरुले आक्रमण सुरु गरेका बताइएको छ । प्रहरीले ती नक्सालहरुले प्रयोग गरेका हतियारहरु पनि बरामद गरेको जनाएको छ । यी नक्सालहरु भारतको मध्य तथा पूर्वी क्षेत्रमा पछिल्ला समयमा सक्रिय रही आएका छन् । ती क्षेत्रहरुमा सुरक्षा व्यवस्था पनि कडा पारिएको भारत सरकारले जनाएको छ ।
 

ताजा खबर