चल चल रे काठमाडौं, मिलेंगे वहाँ ‘सुटिङ लोकेशन’

२०७८ कार्तिक २८ आइतबार १३:४८:०० मा प्रकाशित

काठमाडौं । सन् १९७७ मा प्रदर्शित हिन्दी चलचित्र ‘राम भरोसे’ मा एउटा चर्चित गीत छ- 
‘चल चल रे काठमाडौं
मिलेंगे वहाँ शम्भु ।’

अचेल बलिउडमा यसो पनि भन्न थालिएको छ, 
‘चल चल रे काठमाडौं
मिलेंगे वहाँ सुटीङ सिन ।’

अवश्य, बलिउडका लागि केही समय यता नेपाल पनि चलचित्र छायांकनको उपयुक्त लोकेसन बन्न पुगेको छ । हालै मात्र चलचित्र ‘उचाई’ को छायांकन सकेर अनुपम खेर र बोमन इरानीको टोली फर्र्किएलगत्तै अर्को चलचित्रको युनिट काठमाडौं आइपुगेको छ । 

दक्षिण भारतीय चलचित्र उद्योगका चर्चित अभिनेता विजय सेतुपाथी र केके मेननले अभिनय गर्ने नयाँ चलचित्रको छायांकन मंसीर १८ गतेदेखि काठमाडौंमा सुरु हुने भएको छ । 
यो चलचित्रको नाम अझै घोषणा भएको छैन, तर लोकेसन खोजीको लागि निर्देशक कृष्णदशारा कोथापालीसहितको १६ सदस्यीय टोली काठमाडौं आएको छ ।
काठमाडौं आइपुगेको टोलीमा निर्देशक, छायांकार र प्राविधिक छन् ।

काठमाडौंको बसन्तपुर र भक्तपुरमा छायांकन हुने यो चलचित्रको लोकेसन खोजेर   टोली भारत फर्कनेछ । चलचित्रको नाम र अन्य कलाकार अझै घोषणा गरिएको छैन । निर्देशक कोथापाली तिनै हुन्, जसले सन् २०१८ मा रिलिज भएको बलिउडको कमेडी हरर फिल्म ‘स्त्री’को पटकथा लेखेका थिए । 

चलचित्र ‘उचाई’को छायांकनका कारण नेपालका आकर्षक पर्यटकीय स्थलको अन्तर्राष्ट्रिय क्षेत्रमै ब्रान्डिङ भएको छ । अभिनेता अनुपम खेरको पशुपति दर्शन र हिमाली भेगका जनतासँगको अन्तर्घुलनले नेपाली भूमिकै प्रचार भयो । 

दक्षिण भारतीय नायकको नयाँ चलचित्रले झन नेपाललाई चलचित्र पर्यटनकै हिसाबले पनि चर्चामा ल्याउने आशा बढेको छ । 

कुनैबेला नेपालमा आएको बेला निर्देशक सुबास घइले भनेका थिए, ‘नेपाल भन्ने देश समग्रमा एउटा सुटिङ स्पट हो, यो सिंगो देश नै आउटडोर छायांकनको स्टुडियो हो ।’
नेपालको भ्रमणबाट दंग परेका हास्य कलाकार राजपाल यादवले त नेपाललाई स्वीटजरल्याण्डसँगै तुलना गरेका छन् । 

‘नेपाल स्वीजरल्याण्डभन्दा सुन्दर छ । जता हेर्याे त्यता अद्भूत दृश्य छन् । चलचित्र छायाँकन गर्न तपाई जहाँसुकै जान सक्नुहुन्छ । नदी, झरना, हिमाल एक से एक सुन्दर’, यादवले भनेका छन् । 

बलिउडका लागि अब ठट्टा हैन, सत्य साबित हुँदैछ- 
‘चल चल रे काठमाडौं 
मिलेंगे वहाँ ‘सुटीङ लोकेशन’ । साभारः drishyatv.com

ताजा खबर