टि-ट्वान्टी विश्वकपको उपाधिका लागि न्युजील्यान्ड र अस्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदै

२०७८ कार्तिक २८ आइतबार ११:४२:०० मा प्रकाशित

आइसीसी पुरुष टि ट्वान्टी विश्वकपको उपाधिका लागि आज दुई चीर प्रतिद्वन्द्वी न्युजील्यान्ड र अस्ट्रेलिया बीच प्रतिस्पर्धा हुँदैछ । जसले जितेपनि क्रिकेटको सबैभन्दा छोटो फर्म्याटको क्रिकेटले नयाँ च्याम्पियन पाउनेछ । अर्थात् अस्ट्रेलिया र न्युजील्यान्ड दुवैले अहिलेसम्म टि ट्वान्टी विश्वकपको उपाधि जित्न सकेका छैनन् ।

यसअघि अस्ट्रेलिया सन २०१० मा फाइनलमा पुगेको थियो । तर इङल्यान्डसँग पराजित हुँदै उपविजेतामा सीमित भयो । न्युजील्यान्ड भने पहिलो पटक फाइनल खेल्दैछ ।  एकदिवसीय विश्वकपमा सर्वाधिक ५ पटक उपाधि जितिसकेको अस्ट्रेलिया टि ट्वान्टीको उपाधि पनि आफ्नो नाममा लेखाउने लक्ष्यमा छ ।

पछिल्लो समय आइसीसीको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेको न्युजील्यान्ड पहिलो पटक विश्व विजेता बन्न चाहन्छ ।   अनुमानलाई गलत सावित गर्दै आरोन फिन्च र केन विलियम्सन फाइल पुगेका हुन् । दुवै टोलीले हार नजिक पुगेको स्थितिबाट पुनरागमन गर्दै सेमीफाइनलमा जित हात पारेका थिए ।

न्युजील्यान्डले इङल्यान्डलाई पराजित गर्दा अस्ट्रेलियाले पाकिस्तानलाई हराएको  थियो । यसअघि यी दुई टोली सन् २०१५ को  एकदिवसीय  विश्वकपको फाइनलमा आमनो सामने भएका थिए । जसमा अस्ट्रेलिया ७ विकेटले विजयी भयो   । टि ट्वान्टी विश्वकपमा २०१६ मा सुपर १० मा भेट हुँदा न्युजील्यान्डले  ८ रनको जित हात पारेको थियो ।

आइसीसीको प्रतियोगितामा पछिल्लो पटक २०१९ को एकदिवसीय विश्वकपको समूह चरणमा भेट भएको थियो । जसमा अस्ट्रेलियाले ८६ रनको फराकिलो जित निकालेको थियो । पहिलो संस्करणको टेस्ट च्याम्पियनसिपको विजेता न्युजील्यान्ड वलिङमा उत्कृष्ट देखिएको छ । अस्ट्रेलिया उत्कृष्ट ब्याटिङ लाइनअप भएको टोली हो ।
 

ताजा खबर