नासाले सन् २०२४ मा चन्द्रमामा मानव पठाउन नसक्ने

२०७८ कार्तिक २८ आइतबार ०८:२४:०० मा प्रकाशित

सन् १९७२ पछि पहिलो पटक मानवलाई चन्द्रमा पठाउने नासाको लक्ष्य एक वर्ष पछि सर्ने भएको छ । लगानीको अभाव र चन्द्रमामा अवतरण गर्ने वाहनबारे मुद्दा चलेको भए पनि केही पर्यवेक्षकहरूले नासाले पूर्वघोषित वर्ष अर्थात् सन् २०२४ मै उद्देश्य पूरा गर्ने अपेक्षा गरेका थिए ।

तर नासा प्रमुख बिल नेल्सनले गत साता एउटा पत्रकार सम्मेलनमा लक्ष्य प्राप्त गर्न ढिला हुने बताएका छन् । ’आर्टमस’ नाम दिइएको यो अन्तरिक्ष उडान कार्यक्रमअन्तर्गत नासाले चन्द्रमामा पहिलो पटक महिला अन्तरिक्षयात्री र तेह्रौँ पुरुषलाई चन्द्रमामा पुर्याउन खोजेको छ ।

केही समयअघि एक अमेरिकी सङ्घीय न्यायाधीशले यस कार्यक्रमका लागि चन्द्रमामा अवतरण गर्ने वाहन निर्माणको ठेक्का इलोन मस्कको कम्पनी स्पेसएक्सलाई दिने नासाको निर्णयको पक्षमा फैसला सुनाए ।

एमजनका संस्थापक जेफ बेजोसले उक्त निर्णयको विरोध गरेका थिए। उनका अनुसार उक्त ठेक्का एकभन्दा बढी कम्पनीलाई दिइनुपर्ने थियो । यद्यपि सहमति घोषणाको समयमा नासाले जारी गरेको विज्ञप्तिका अनुसार कङ्ग्रेसबाट पर्याप्त बजेट विनियोजन नभएका कारण त्यो सम्भव भएन । संस्थाका प्रमुख नेल्सनले सोही मुद्दाका कारण समयावधि लम्बिएको बताएका छन् ।

ताजा खबर