फ्रान्सको राष्ट्रपति भवनमा भएको भनिएको बलात्कारको घटनाको अनुसन्धान सुरु

२०७८ कार्तिक २७ शनिबार ११:२६:०० मा प्रकाशित

फ्रान्समा सरकारी अभियोजनकर्ताहरूले पेरिसस्थित राष्ट्रपति भवनमा भएको भनिएको एउटा बलात्कारको घटनाबारे अनुसन्धान गर्न थालेका छन् । एक महिला सैनिकले एलीजे दरबारमा गत जुलाई महिनामा आयोजित एउटा मदिरापान कार्यक्रमपछि आफूमाथि यौन दुर्व्यवहार भएको सञ्चारमाध्यमसँग बताएकी थिइन् ।

बिदा हुन लागेका एक वरिष्ठ अधिकारीका लागि आयोजित उक्त कार्यक्रममा राष्ट्रपति एमानुएल माक्रोँ पनि सहभागी भएका थिए । आरोपित व्यक्ति पनि सैनिक हुन् । यस विषयमा उनीसँग सोधपुछ गरिएको छ। तर हालसम्म उनीविरुद्ध कुनै अभयोग लगाइएको छैन ।

लिबरेशन नामक पत्रिकाले शुक्रवार पहिलो पटक उक्त आरोपबारे समाचार प्रकाशित गरेको थियो । पीडित भनिएकी महिला र अभियुक्त दुवै जना राष्ट्रपति भवनको उच्च सुरक्षा अधिकारीको कार्यालयमा कार्यरत थिए।

पत्रिकामा जनाइ अनुसार उनीहरू एकअर्कासँग परिचित थिए । राष्ट्रपति कार्यालयका एक अधिकारीले आरोपबारे थाहा हुनासाथ पीडित भनिएकी महिलालाई सहयोग गर्न आवश्यक कदम चालिएको बताएका छन् ।

उक्त कार्यक्रममा एक पुरुष सहकर्मीले आफूसँग यौनिक दुर्व्यवहार गरेको ती महिला सैनिकको दाबी छ । घटना भएको भोलिपल्टै ती महिलाले प्रहरीमा औपचारिक उजुरी दिइन् ।

त्यसको केही समयपछि घटनाबारे आपराधिक अनुसन्धान सुरु गरिएको थियो । केही वर्षयता फ्रान्सको समाजमा यौन दुर्व्यवहारका धेरै घटनाहरू बढ्दो रूपमा बाहिर आइरहेका छन् ।

राष्ट्रपति माक्रोँले महिलाविरुद्ध हुने हिंसाको समस्यालाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् । साथै उनको सरकारले गत मार्चमा भएका केही घटनाको प्रतिक्रियास्वरूप नयाँ कानुनी व्यवस्था अघि सारेको छ । अहिले फ्रान्समा सहमतिमा यौन सम्बन्ध राख्न १५ वर्ष उमेर भएको हुनुपर्ने कानुनी व्यवस्था गरिएको छ ।

ताजा खबर