चिनियाँ राष्ट्रपति सीलाई अझ बलियो हुनेगरी ऐतिहासिक प्रस्ताव पारित

२०७८ कार्तिक २६ शुक्रबार १२:१३:०० मा प्रकाशित

चिनियाँ राष्ट्रपति सी जिनपिङलाई राजनीतिक इतिहासमा स्थापित गर्ने गरी चिनियाँ कम्युनिस्ट पार्टीले एउटा ऐतिहासिक प्रस्ताव पारित गरेको छ । पार्टीको १०० वर्ष लामो इतिहासको सारांशको रूपमा रहेको उक्त दस्ताबेजमा पार्टीका महत्वपूर्ण उपलब्धिहरू र भावी दिशा बारे विषयहरूलाई सम्बोधन गरिएको छ । पार्टी स्थापना पछि यस्तो प्रस्ताव पारित भएको यो तेस्रो पटक हो ।

पहिलो पटक सन् १९४५मा माओत्सेतुङ् र दोस्रो पटक सन् १९८१मा दङ सिओपिङले यस्तो प्रस्ताव पारित गरेका थिए । बिहीबार चीनको सबैभन्दा महत्वपूर्ण राजनीतिक बैठकको छैटौँ पूर्ण सत्रमा उक्त दस्ताबेज पारित गरिएको हो । यस्तो प्रस्ताव पारित गराउने तेस्रो चिनियाँ नेताका रूपमा यो कदम सीलाई पार्टीका संस्थापक माओ र उनका उत्तराधिकारी दङसँग बराबरीको हैसियत प्रदान गर्न प्रति लक्षित रहेको देखिन्छ ।

केहीले उक्त प्रस्तावलाई चीनमा दङको नेतृत्वका बेला सुरु भएको र त्यसपछि जियाङ् जमिन सहित अन्य नेताहरूका पालामा समेत जारी रहेको दशकौँ देखिको विकेन्द्रीकरणलाई फिर्ता गर्ने सीको पछिल्लो प्रयासका रूपमा हेरेका छन् । चार दिनसम्म चलेको पार्टी बैठकमा १९औ केन्द्रीय कमिटीका पूर्ण र वैकल्पिक गरी ३७० भन्दा बढी नेताहरू जम्मा भएका थिए ।

आगामी वर्ष हुने नेशनल कङ्ग्रेस बैठक अघि नेताहरूको यो प्रमुख बैठक हो । आगामी वर्ष हुने नेशनल कङ्ग्रेस बैठकमा सीले ऐतिहासिक रूपमा राष्ट्रपति पदमा तेस्रो कार्यकालको माग राख्ने अपेक्षा गरिएको छ । सन् २०१८मा चीनले राष्ट्रपतिका लागि दुई कार्यकालको व्यवस्था खारेज गरेको थियो जसले सीलाई आजीवन शक्तिमा रहने बाटो खोलिदिएको छ।

ताजा खबर