कोलम्बियालाई पराजित गर्दै ब्राजिलद्वारा विश्वकपमा स्थान सुरक्षित 

२०७८ कार्तिक २६ शुक्रबार ११:५९:०० मा प्रकाशित

ब्राजिल सन् २०२२ को कतार विश्वकपमा छनोट हुने पहिलो दक्षिण अमेरिकी राष्ट्र बनेको छ । शुक्रबार बिहान भएको खेलमा कोलम्बियालाई एक शून्य गोलले पराजित गर्दै ब्राजिलले विश्वकपमा स्थान सुरक्षित गरेको हो । घरेलु मैदानमा  ब्राजिललाई  जित दिलाउन ७२ औं मिनेटमा लुकास पाक्वेटाले निर्णायक गोल गरे ।

कोलम्बियाका गोल किपर डेविड ओस्पिनाले पाक्वेटाको प्रहार  हातले रोक्ने प्रयास गरेपनि सफल भएनन् । यो नतिजा पछि दश राष्ट्र सहभागी छनोट खेलको तालिकामा शीर्ष स्थान ओगटेको ब्राजिलको १२ खेलबाट ३४ अंक भएको छ । जुन दोस्रो स्थानको अर्जेन्टिनाको भन्दा ९ अंकले बढी हो ।

शीर्ष चारमा रहने टोलीले सिधै कतार विश्वकपमा स्थान बनाउनेछन् । पाँचौं हुनेले प्ले अफ खेल्ने मौका पाउनेछ । विश्वकप छनोटअन्तर्गत घरेलु मैदानमा ब्राजिलको यो लगातार एघारौ जित हो । जुन दक्षिण अमेरिकी क्षेत्रमा कीर्तिमान हो । यस्तै घरेलु मैदानमा छनोट खेलमा गोल नखाएको यो लगातार दश खेल हो ।

साओ पाउलोमा भएको खेल निकै घम्साघम्सीपूर्ण भएको थियो । खेल अवधिभर कुल ४४ फाउल हुँदा सात पहेँलो कार्ड दिइएको थियो । अन्य खेलमा चिलीले पाराग्वेलाई एक शून्य गोलले हराउँदा इक्वेडरले भेनेजुएलालाई एक शून्य गोललेनै पराजित गर्यो । पेरुले बोलिभिया माथि तीन शून्यको जित हात पार्यो ।
साभार : drishyatv.com

ताजा खबर