स्वीट्जरल्याण्डद्वारा नेपाललाई एक लाख ४४ हजार डोज खोप हस्तान्तरण

२०७८ कार्तिक २५ बिहीबार २०:५८:०० मा प्रकाशित

काठमाडौं । नेपाललाई स्वीट्जरल्याण्ड सरकारले कोरोना भाइरसविरुद्धको एस्ट्राजेनिका खोप एक लाख ४४ हजार मात्रा उपलब्ध गराएको छ । बिहीबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित कार्यक्रममा स्वास्थ्य सचिव डा रोशन पोखरेललाई नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापलरले खोप हस्तान्तरण गरेकी हुन् ।

स्वास्थ्य सचिव डा पोखरेलले स्वीट्जरल्याण्ड सरकारले उपलब्ध गराएको खोप नेपालका सर्वसाधारणलाई लगाइने जानकारी दिए । उनले आगामी चैत मसान्तभित्रमा सबै नेपालीलाई खोप उपलब्ध गराउने बताए ।

नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत क्यापलरले कोरोना भाइरसविरुद्धको रोकथाम र नियन्त्रणमा नेपाललाई सहयोग गर्दै आइरहेको बताइन् । स्वीट्जरल्याण्ड सरकारले कोभ्याक्स सुविधाअन्तर्गत नेपाललाई खोप उपलब्ध गराएको हो ।
 

ताजा खबर