भूकम्प पीडित चाँगुनारायणको यस्तो छ दशा

२०७४ पौष २ आइतबार १२:४३:०० मा प्रकाशित

भक्तपुर,२ पुस । नेपालको सबैभन्दा पुरानो लिखित इतिहास रहेको चाँगुनारायण परिसरभित्र तीन मुख्य मन्दिरहरु छन् – चाँगुनारायण मन्दिर , छिन्नमस्त मन्दिर र किलेश्वर महादेव मन्दिर । पुस्तौँदेखि पूजारी रहँदै आएका यी मन्दिरका पूजारीहरुको घर २०७२ सालको भूकम्पले भत्किएपछि अहिलेसम्म घरबिहिन छन् उनीहरु । चाँगुनारायण मन्दिरका हालका पुजारी चक्रधरानन्द राजोपाध्याय दैनिक ७ कि.मी जति यात्रा गरी नित्य पूजा गर्छन् र आफन्तको घरतिर लाग्छन् ।

उनलाई सजिलोसँग भेट्न गाह्रो छ । अन्य मन्दिरका पूजारी पनि मन्दिर नजिकै डेरामा बस्दै आएका छन् । नेपालको इतिहासमा राजा मानदेवले चाँगुनारायणमा स्थापना गरेको शिलालेख नै सबैभन्दा पुरानो लिखित लेख भएकै कारणले चाँगुनारायणको निर्माण राजा मानदेवले गरेका हुन् भन्ने गरिन्छ । तर छिन्नमस्ताका पुजारी प्रचण्डमान कर्माचार्य फरक तथ्य प्रस्तुत गर्छन् । उनका अनुसार गोपाल वंशावलीलाई आधार मान्ने हो भने चाँगुनारायणको मन्दिर हरिदक्त वर्माले गरेका हुन् र राजा मानदेवले पूनःनिर्माण गरेका हुन् ।

(पुजारी प्रचण्डमान )

नेपाल भाषा अनुसार च अर्थात् चाँप र गु अर्थात् बनबाट चाँगुनारायण भएको हो जुन अपभ्रंश हुँदै चाँगुनारायण भएको भन्ने जनविश्वास छ । सँस्कृत भाषाबाट भने यसलाई चम्पकनारायण पनि भन्ने गरिन्छ । पुरानो इतिहास बोकेको कारणले नै होला यो मन्दिरसँग सम्बन्धित धेरै पुराना कथाहरु  छन् ।

कथा १

धेरै पहिले यस स्थानमा चाँपको बन थियो जहाँ गाईहरु चराउन ल्याइन्थ्यो । यो बनमा ल्याउँदा गाईले धेरै दूध दिने भएकोले गोठालाहरुले सँधै यहि बनमा गाई चराउन ल्याउँथे । तर एउटा गोठालाको गाईले एक्कासी दूध कम दिन थाल्यो । दिनहुँ गाईले दूध कम दिन थालेको हुनाले गोठालोले दिउँसो चियो गर्दा अचम्मको कुरा देख्यो । गाई एउटा चाँपको रुखमुनी गयो त्यस चाँपबाट एउटा कालो केटो निस्कियो र गाईको दूध अघाईन्जेल खायो । त्यो देखेर गोठालाहरुले त्यस रुखमा राक्षस बसेको ठानेर रुखलाई काट्न थाले । तर एक्कासी त्यस रुखबाट रगत आउन थाल्यो र छिनमै भगवान नारायण प्रकट भए र गोठालाहरुलाई धन्यवाद दिए । भगवान नारायण कुनै श्रापका कारण त्यस रुखमा बन्धि भएका थिए । रुख काट्दा आफू दण्डित भएको र श्रापमुक्त भएको भनेर भगवानले गोठालालाई धन्यवाद दिएका थिए।

(पुजिँदै गरिएकाे चाँपकाे रूख)

कथा २

 दन्त्य कथा त धेरैले पक्कै सुनेका हुन्छन् । तर दन्त्य कथाको जीवित प्रमाण चाँही कमै देख्नपाएका हुन्छन्। चाँगुनारायण परिसरमा दन्त्यकथासँग आधारीत जीवित प्रमाण हो “ नसिद्दिएको हात्ती ” । कथा अनुसार छिन्नमस्त मन्दिर अगाडी रहेको ढुङ्गाको हात्ती कुँद्दै गरेको अवस्थामा छाडिएको हो । यसलाई खोपेर निर्माण गर्ने क्रममा यसबाट रगत निस्किएको हुनाले खोप्न बन्द गरिएको विस्वास छ । स्थानिय भाषामा यसलाई “सिमरु किसी” भनिन्छ जसको अर्थ हो नसिद्दिएको हात्ती ।

(नसिद्दिएकाे हात्ती)

कथा ३

मन्दिरको मुख्य द्वारमाथि हेर्दा देखिन्छ एउटा पोको, जसलाई कमैले मात्र याद गर्छन् मानिसहरुले । यसको पनि आफ्नै कथा छ । जनविश्वास अनुसार यो सत्य युगको चामल हो । सत्य युगमा बोटमा धान नफली चामल नै फल्थ्यो । मान्छेहरुले भाडा भरी चामल हालेर पकाउनु पर्ने नियम थियो । तर एकदिन एउटा लोभी व्यक्तिले लोभ गरेर आधा भाँडा मात्र चामल हालेर भात पकाए । त्यहि दिन देखि बोटमा चामल नफली धान फल्दै आएको भन्ने विश्वास छ ।

(चामलकाे पाेकाे)

चाँगुनारायसँग सम्बन्धित यस्ता कथा धेरै छन् । कथा सुन्दै प्रमाण हेर्दा बेग्लै मज्जा हुन्छ । किलेश्वस महादेवका पुजारी रामप्रकाश भट्टका अनुसार मन्दिर पनि कथा जतिकै पुरानो हो । त्यसैले पर्यटक र भक्तहरु पनि धेरै आउँछन् यहाँ । विशेषगरि हरिवोधनी एकादशी, नागपञ्चमी, कृष्ण जन्मास्टमीमा भक्तहरुको भिड हुने गर्छ । भट्टका अनुसार चाँगुनारायणको पूजारी राजोपाध्याय थरको नै हुनुपर्ने त्यसै गरी छिन्नमस्तको कर्माचार्य र किलेश्वर महादेवको भट्ट थरको नै हुनुपर्ने परम्परा रहीआएको छ । उनि भन्छन् – ‘पूजारी हुन कठीन प्रकृया हो अझ कठीन बनाइदिएको छ घरबिहिन हुनुको पिडाले ।’

 वास्तवमा चाँगुनारायणको हालको अवस्था हेर्दा पनि उदेक लाग्दो छ । भत्किएको भग्नावशेषले सुकिसकेको भूकम्पको घाउको पाप्रा कोट्याए झैँ लाग्छ यसको परिसरको अवस्था हेर्दा । दैनिक १५० देखि ३०० पर्यटक आउने यो ठाउँमा पूनःनिर्माणसँग बजेटको भेट भएको छैन । के चाँगुनारायणको पूनःनिर्माण गर्नु मानदेवले नै पुनःजन्म लिनु पर्ने हो त ?
 

ताजा खबर