उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ पर्व समापन

२०७८ कार्तिक २५ बिहीबार ०८:२७:०० मा प्रकाशित

काठमाडौँ । व्रतालुले बिहीबार उदाउँदो सूर्यलाई अर्घ्य दिई पर्वको समापन गरेका छन् । बुधबार अस्ताउँदै गरेको सूयलाई अर्घ्य दिएका व्रतालुहरूले बिहीबार बिहान उदाउँदै गरेका सूर्यलाई अर्घ दिएका हुन् ।

मूल विधि चतुर्थीदेखि सुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ । अर्घ्यमा ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान, गेँडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सूप, कनसुपती, कलशसहितको घैँटो सूर्यलाई अर्पण गर्ने चलन रहेको छ ।

सूर्यलाई दिइने अर्घ्यमा ठकुवालाई समृद्धि, उखुलाई आरोग्य, केरालाई विष्णु र कृषि उत्पादनलाई प्रकृतिप्रति कृतज्ञताको द्योतक मानिन्छ । कात्तिक शुक्ल षष्ठी र सप्तमीका दिन सूर्यलाई विशेष विधिपूर्वक अर्घ्य दिएर छठ पर्व मनाइन्छ । केही वर्ष पहिलासम्म मधेसमा मात्र मनाइने छठ पर्व पछिल्लो समयमा काठमाडौंलगायत पहाडी जिल्लामा समेत मनाउन थालिएको छ ।
 

ताजा खबर