मिर्गौलाको बायोप्सी अब नेपालमा

२०७८ कार्तिक २४ बुधबार २१:३५:०० मा प्रकाशित

काठमाडौं । अब नेपालमा नै मिर्गौलाको बायोप्सीको परीक्षण नियमित हुने भएको छ । ‘प्रथम प्याथोलोजी ल्याब’ले मिर्गौला बायोप्सीको परीक्षण सुरु गरेसँगै नेपालमा पहिलोपटक नियमित बायोप्सीको परीक्षण हुने भएको हो ।

यसअघि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा बायोप्सी परीक्षणको सुविधा भए पनि नियमित परीक्षण नगर्दा नेपालका सबै मिर्गौला बिरामीको बायोप्सीको नमूना परीक्षण गर्नका लागि भारत पठाइने गरिन्थ्यो ।

भारत पठाउन छ हजार लिने गर्दथ्यो तर ‘प्रथम प्याथोलोजी ल्याब’ले पाँच हजार ५०० रुपैयाँमा नै बायोप्सीको परीक्षण गर्न थालेको छ । आजदेखि सञ्चालनमा आएको ल्याबको त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ मेडिसिन (आइओएम)की डीन प्रा डा दिव्या सिंहले उद्घाटन गरिन् । उनले स्वास्थ्य परीक्षणमा नेपाल आत्मनिर्भर बनाउन यस ल्याबले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन् ।

ल्याबका अध्यक्ष डा निराजन मैनालीले मिर्गौलाका बिरामीलाई लक्षित गरी ल्याब सञ्चालनमा ल्याइएको जानकारी दिए । उनले विशेषज्ञ चिकित्सकसहित ल्याब सञ्चालन ल्याइएको बताए ।

उनले अबको पाँच वर्षभित्र कुनै पनि स्वास्थ्य परीक्षण गर्न विदेश जान नपर्ने तरिकाले आफूहरुले ल्याबलाई स्तरोन्नति गर्नेसमेत बताए । यस्तै ल्याबले बिरामीलाई मोबाइल एपमा नै रिपोर्ट उपलब्ध गराउने भएको छ ।

बिरामीले आफ्नो रिपोर्ट जुनसुकै बेला पनि हेर्न सक्ने व्यवस्था मिलाइएको ल्याबका अध्यक्ष डा मैनालीले बताए । उनका अनुसार ल्याबमा परीक्षण गरिने रोगको बढीमा तीन दिनसम्म रिपोर्ट आउनेछ ।
साभारः  drishyatv.com

ताजा खबर